काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले देशको सार्वभौमिकता र स्वाधीनताको अगाडि कानून र अदालतलाई नमान्ने बताएका छन्।
पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पछि प्रमुख बालेनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए आफू कुनै कानून र अदालतलाई नमान्ने बताएका हुन्।
उनले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन।’
बालेनले अगाडि लेखेका छन्,‘फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ। यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो ,अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’