गोरखा नगरपालिकामा तीन सय गाईवस्तुलाई लम्पी छाला रोग (एलएसडी) विरुद्धको खोप लगाइएको छ । गोरखा नगरपालिका पशु सेवा शाखा र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाको प्राविधिक सहयोगमा गोरखा नगरपालिका–१३ र १४ का गाईवस्तुलाई छाला रोगविरुद्धको खोप लगाइएको पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए । रोग नियन्त्रणका लागि नगरपालिकाका दुई वडाका गाईवस्तुलाई खोप लगाउने अभियान सञ्चालन गरिएको उनले बताए । नगरपालिकामा रोग फैलिएको छ । खोप कार्यक्रम सञ्चालन गर्न बुढीकोटी डेरी उत्पादन सहकारीले आर्थिक सहयोग गरेको अर्यालले बताए । छालाको रोगबाट प्रभावित गाई र भैंसीले दूध उत्पादन मात्र घटाउँदैन, समयमै उपचार नगर्दा मर्न पनि सक्छ । गोरखा जिल्लाका भीमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका, बारपाक गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिका गरी पाँचभन्दा बढी स्थानीय तहमा यो रोग फैलिसकेको छ । जिल्लामा हालसम्म ५८ भन्दा बढी गाईवस्तुको छाला रोगबाट मृत्यु भइसकेको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400