भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनको परिवारको नाममा ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा रहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दाबी गरेको छ । बुधबार यहाँ पत्रकार सम्मेलन गर्दै सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक दिनेश आचार्यले कागजात किर्ते गरी सार्वजनिक जग्गा हिनामिना गर्ने व्यक्तिको बारेमा जानकारी दिए । ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा गुरुङ र उनको परिवारको रहेको आचार्यले जानकारी दिए । अरुसँग चार–पाँच रोपनी रहेको उनले बताए । यस सम्बन्धमा पक्राउ परेका अर्का सुधीरकुमार शाहले मालपोत कार्यालय भक्तपुरमा शाखा अधिकृत हुँदा ललिता निवासको पाँच रोपनी जग्गा हडप गरेका थिए । प्रहरीले गुरुङ, शाह, धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई नियन्त्रणमा लिएको थियो । तर, यस सम्बन्धमा पक्राउ परेका अन्य तीन जना भने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि रिहा भएका छन् । सर्वोच्चले उनीहरुलाई थुनामा राखेर अनुसन्धान जारी राख्न सरकारलाई आदेश दिएको थियो । रिहा हुनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हपिन्द्रमणि केसी रहेका छन् । देउजा त्यतिबेला मालपोत कार्यालय डिल्लीबजारका प्रमुख र कपालीका कर्मचारी थिए । सार्वजनिक सम्पत्ति रहेको बालुवाटारस्थित ललित निवासको जग्गा २०४९ देखि २०६९ सालसम्म विभिन्न व्यक्तिको नाममा हस्तान्तरण भएको अनुसन्धानले देखाएको छ । सिआइबीले यस विषयमा अनुसन्धान जारी राखेको छ । यसअघि सिआइबीले ३ सय जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तर, जिल्ला सरकारी वकिलले अनुसन्धान अघि बढाउन रोकेका थिए । यसैबीच यस सम्बन्धमा अख्तियारले दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400