प्रधानमन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षेनी लाखौं विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानबाट रोकेर मात्र विश्वविद्यालयले आफ्नो औचित्य प्रमाणित गर्न सक्ने बताएका छन् । पोखरा विश्वविद्यालयको सिनेटको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको अस्वाभाविक आकर्षणको विषयलाई नेपालका विश्वविद्यालयहरूले गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताए । उनले संघीय शिक्षा ऐन छिट्टै पारित गर्न सरकारले उच्च प्राथमिकता दिएको बताए । प्रधानमन्त्रीले भने, “संघीय शिक्षा ऐन संघीय संसदमा पेस भइसकेको छ, यसलाई प्रक्रियामा लिएर छिट्टै ऐन पारित गर्न हामी पहल गरिरहेका छौँ, शिक्षा क्षेत्रका सबै समस्या समाधानका लागि ऐनले महत्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा हामी आशावादी छौं । " उनले सबै विश्वविद्यालयले आफ्नो शैक्षिक क्यालेन्डर बनाएर दृढताका साथ शैक्षिक क्यालेन्डर लागू गर्नुपर्नेमा जोड दिए । ‘विद्यालयले विद्यार्थी भर्ना गर्ने, पठनपाठन सिकाउने गतिविधि र परीक्षा समयमै सञ्चालन गर्ने र विद्यार्थीलाई विदेश जानबाट रोक्नको लागि तोकिएको शैक्षिक अवधिभित्र अध्ययन पूरा गर्ने व्यवस्था मिलाउनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भने । उनले देशको आवश्यकता र विद्यार्थीको मागअनुसार समयसापेक्ष पाठ्यक्रम निर्माण र कार्यान्वयनमा विश्वविद्यालयहरूले जोड दिनुपर्ने बताए । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, पोखरा विश्वविद्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400