भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोलीले आज नागढुंगा–सिस्नेखोला सुरुङमार्गको स्थलगत निरीक्षण गरेको छ । सुरुङ मार्गको भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्द चापाई, सांसद राजेन्द्र पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र विश्व बैंकका उच्च अधिकारीले स्थलगत निरीक्षण गरेका थिए । सुरुङ मार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । सो अवसरमा मन्त्री ज्वालाले निर्माण कम्पनीलाई थपिएको समयसीमाभित्र सुरुङ मार्ग निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । उनले निर्माण प्रक्रियामा व्यावहारिक जटिलता देखिए सरकारले सहजीकरण गर्ने बताए । मन्त्री ज्वालाले सुरुङ मार्गको प्रगति र अवस्थाबारे पनि जानकारी लिनुभयो । सुरुङ मार्ग निर्माण कम्पनीका प्रमुख इन्जिनियर नारायण दुवाडीले मुख्य सुरुङ करिब ४ सय मिटर र उद्धार सुरुङ करिब ३५ मिटर खन्न बाँकी रहेको बताए । आगामी वर्षभित्र सुरुङ मार्गमा सवारी साधन सञ्चालन गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिइएको दुवाडीले बताए । करिब चार वर्षअघि २ दशमलव ६८ किलोमिटर सुरुङमार्ग निर्माणको शिलान्यास गरिएको थियो । नौ मिटर चौडा मुख्य सुरुङ र चार मिटर चौडा उद्धार सुरुङ गरी दुईवटा सुरुङ निर्माण भइरहेको छ । कोभिड–१९ को महामारीका कारण सुरुङ निर्माणको काम अवरुद्ध भएपछि सुरुङ निर्माणको म्याद १४ महिना थप गरिएको हो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400