प्रविधिको प्रयोग गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउनुपर्छ : मन्त्री बस्नेत

0
128
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विभिन्न विधि र प्रविधिको अवलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

डिजिटल स्वास्थ्य दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले ‘डिजिटल स्वास्थ्य’ को माध्यमबाट स्वास्थ्य सेवालाई किफायती, प्रभावकारी, पहुँचयोग्य र गुणस्तरीय प्रदान गरिने बताउनुभयो ।

मन्त्रालयले गत साउन २० गते ‘ई–हेल्थ रोडम्याप’ कार्यान्वयनमा ल्याएको र सो मार्गचित्रको कार्यान्वयनको स्मरणमा हरेक वर्ष नेपाली महिनाको साउन ४ गतेलाई डिजिटल स्वास्थ्य दिवसका रुपमा मनाउँदै आएको छ ।

सो अवसरमा स्वास्थ्यमन्त्रीले ई–स्वास्थ्य रणनीति, २०७४ र त्यसको रोडम्यापलाई कार्यान्वयनमा सहजीकरण गर्नका लागि तयार पार्ने काममा संलग्नहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । विश्व स्वास्थ्य संगठनले ल्याएको ‘इ–हेल्थ’ अवधारणाको विस्तारित स्वरूप ‘डिजिटल हेल्थ’ कार्यान्वयन गर्ने चरणमा मन्त्रालय पुगेको छ । अवधारणा स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगसँग सम्बन्धित छ।

‘स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमतालाई आधुनिकीकरण र विस्तार गर्दै स्वास्थ्य सेवालाई सुलभ, पहुँचयोग्य, प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने औजारका रूपमा हामीले डिजिटल हेल्थलाई लिएका छौं’, स्वास्थ्यमन्त्रीले भने । उनले प्रविधिमा आधारित स्वास्थ्य सेवाले स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्तिको अभावका समस्यालाई सम्बोधन गर्ने र स्वास्थ्य सेवा प्राप्त गर्न लाग्ने समय, खर्च र प्रयासलाई पनि न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार प्रविधिको दुरुपयोग रोक्न र दुर्गम क्षेत्रका जनता र बहिष्कारमा रहेका जनतालाई स्वास्थ्य सेवाको पहुँचमा प्राथमिकता दिन मन्त्रालय प्रतिबद्ध छ ।

‘गुणस्तरको स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचको जिम्मेवारी हामीले लिएका छौं र यो जिम्मेवारी पूरा गर्न सबै प्रकारका उपाय र प्रविधि अपनाउने नीतिको व्यवस्था छ’, स्वास्थ्यमन्त्रीले भने ।

उनले स्वास्थ्य सूचनाको गोपनियता र सुरक्षा सुनिश्चित गरी डिजिटल सेवाप्रति जनताको विश्वास बढाउने भविष्यको चुनौती रहेको बताए ।
उनले सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा समावेश हुनुको विकल्प नभएको अवस्थामा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताए ।

मन्त्रालयले बहुपक्षीय सहयोग र पहलबाट मात्र डिजिटल स्वास्थ्यको कार्यान्वयन सम्भव हुने भएकाले नियमन, विकास र विस्तारका लागि काम गर्ने सरकारी निकाय, साझेदार, विज्ञ समुदाय, शैक्षिक संस्था र पत्रकारिता क्षेत्रलाई सहकार्यका लागि आह्वान गरेको छ ।


२०२१ को जनगणना अनुसार झन्डै ७३ प्रतिशत घरपरिवारसँग कम्तीमा एउटा स्मार्ट मोबाइल छ भने झण्डै आधा प्रतिशत परिवारसँग टेलिभिजन र ३८ प्रतिशत परिवारसँग इन्टरनेटको पहुँच छ ।


 त्यसैगरी ५५ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेट सेवासहितको कम्प्युटर रहेकाले स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
मन्त्री बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पु¥याउने जिम्मेवारी मन्त्रालयले लिएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सबै प्रकारका उपाय र उपाय अपनाउने नीति रहेको स्पष्ट पारे ।


स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमता अभिवृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई किफायती, सहज, सुलभ र गुणस्तरीय बनाउने स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने औजारका रूपमा डिजिटल हेल्थलाई लिएको उनले बताए ।


स्वास्थ्य सूचना प्रणालीको सुदृढीकरण, टेलिमेडिसिन र डिजिटल प्रविधिसहितका अन्य स्वास्थ्य सेवा, आमसञ्चार तथा स्वास्थ्य शिक्षा, आपत्कालीन स्वास्थ्य र मानव संसाधन व्यवस्थापन जस्ता क्षेत्रमा प्रारम्भिक रूपमा कामको सूची बनाएर सूचना प्रविधिको दायरा विस्तारै बढाउन स्वास्थ्यमन्त्रीले आग्रह गरे ।

worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here