नेपालको पहिलो र एसियाकै दोस्रो पाँच सय किलोवाट क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयका रूपमा विकास गरिनेछ। केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न नेपाल विद्युत प्राधिकरणले एनइए इन्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना तयार गरिरहेको छ । ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाको पुनर्निर्माण र खाली जग्गामा नयाँ निर्माण गरिनेछ । प्राधिकरणका अनुसार काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र पावर हाउस क्षेत्रमा रहेको जग्गामा ग्रीनपार्क, रेष्टुरेन्ट, पसल, जिपलाइन, पिकनिक स्पट, पुस्तकालय, बाल उद्यानलगायतका संरचना निर्माण गरिने प्राधिकरणले जनाएको छ । जलविद्युत केन्द्रको संरचनालाई मर्मत गरी सङ्ग्रहालयको रूपमा विकास गरिनेछ। परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयन गर्न करिब ३ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । १ अर्ब रहेको प्राधिकरणले जनाएको छ । जलविद्युत केन्द्रको स्वामित्वमा करिब ३२४ रोपनी जग्गा रहेको छ । पर्यटकीय संरचना निर्माणका लागि जलाशय क्षेत्रको करिब ४६ रोपनी र पावर हाउस क्षेत्रको करिब १४६ रोपनी प्रयोग गरिनेछ । प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा सोमबार फर्पिङ जलविद्युत केन्द्र परिसरमा आयोजित वृक्षरोपण कार्यक्रममा सहभागी हुन पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले गुरुयोजनाबारे जानकारी दिएका हुन् । मन्त्री बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले केन्द्रको विद्युत् केन्द्र र अन्य संरचनाको अवस्था अवलोकन गरेका थिए । मन्त्री बस्नेतले विद्युत् केन्द्रको ऐतिहासिक महत्वलाई विद्वान, अनुसन्धानकर्ता र चासो राख्ने सबैका लागि जलविद्युतको इतिहास बुझ्ने र सन्दर्भ स्थलका रूपमा संरक्षण र विकास गर्नुपर्ने बताउनुभयो । उनले स्थानीय बासिन्दाको आर्थिक–सामाजिक विकासका लागि केन्द्रबाटै योजना र कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिए । सचिव घिमिरेले त्यहाँको प्राकृतिक सौन्दर्य प्रयोग गरी जलविद्युत केन्द्रलाई सुन्दर पर्यटकीय स्थल र जलविद्युत क्षेत्रको अध्ययनस्थलका रुपमा विकास गर्नुपर्ने बताए । एमडी घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा सङ्ग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलका रूपमा विकास गरिने बताए । फर्पिङ जलविद्युत केन्द्र आधिकारिक रूपमा सन् १९११ मे देखि सञ्चालनमा आएको थियो। तत्कालीन राजा पृथ्वीवीर विक्रम शाहले टुँडिखेलमा दीप प्रज्वलन गरी उद्घाटन गरेको जलविद्युत केन्द्रबाट राजपरिवार, राणा परिवारलगायतलाई विद्युत वितरण गरिएको थियो । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा जलविद्युत केन्द्र बनेकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको हो । निर्माणमा करिब चार वर्ष लागेको आयोजनाको लागत रु. ७१३,०००। जलविद्युत केन्द्र सन् १९८१ सम्म निरन्तर सञ्चालनमा थियो तर त्यसपछि जलाशयको पानी टर्बाइनमा नपुगेर ललितपुरका विभिन्न क्षेत्रमा खानेपानीका लागि प्रयोग गरिएपछि विद्युत् केन्द्र सञ्चालनमा रोक लगाइएको थियो । २००६ मा, केन्द्रको पुनर्निर्माण गरियो र आवश्यक भएमा पुन: सञ्चालन गर्न सर्तमा राखियो।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400