आईसीसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाईएसडी ओभल क्रिकेट रंगशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यो हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना चकनाचुर भएको छ । थाइल्याण्डले दिएको १०६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा ५९ रनमै अलआउट भयो । नेपालका लागि कविता कुँवरले सर्वाधिक ११ रन बनाए भने अप्सरी बेगम र कविता जोशीले समान १० रन जोडिन् । बाँकी नेपाली ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि थाइल्याण्डका ओनिचा कामचोम्फु र थिपाच्चा पुथावाङले समान ३–३ विकेट लिए भने नटाया बुचाथमले २ तथा फनिता माया र सुनिदा चतुरंगरत्नले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १०५ रन जोडेको थियो । थाइल्याण्डका लागि नानापत कोन्चारोएनकाईले ६३ बलमा चार चौकासहित सर्वाधिक ५९ रन बनाए । त्यसैगरी नाथकम चन्थमले ३१ र चुनिदा सुतिरुआङले ११ रन बनाए । नेपालका लागि कविता कुँवर र पुजा महतोले एक–एक विकेट लिए । यो जितसँगै थाइल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ र विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । नेपाल समूह ‘ए’ मा उपविजेता र समूह ‘बी’ को विजेता बन्दै थाइल्याण्ड सेमिफाइनलमा पुगेको थियो ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400