जल तथा मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर तापक्रम घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री र अधिकतम १९ डिग्री सेल्सियसमा झरेको छ । पछिल्लो तीन चार दिनयता काठमाडौंको न्यूनतम तापक्रम ४ देखि ५ डिग्री र अधिकतम तापक्रम १७ देखि १९ डिग्रीको आसपास रहेको छ । तापक्रम घटेसँगै काठमाडौंमा चिसो बढेको छ । दिन घाम लागे पनि बिहान बेलुका चिसो बढेको छ । सबैभन्दा कम जुम्लामा माइनस २ दशमलव ८ डिग्री र जोमसोममा माइनस ३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र यस मौसमी प्रणालीका कारण मौसम आंशिकदेखि सामान्य सफा रहेको छ । आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहनेछ । शनिबार (२३ पुस) माथिका प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




