गीतकार यशु थापाको गीति एल्बम ‘नाम’ तथा एल्बममा समावेश ‘बदनाम’ बोलको गजल भिडियो बेल्जियमको राजधानी ब्रसेल्समा एक साथ सार्वजनिक गरिएको छ ।
बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापाले उक्त गजल संग्रह तथा भिडियोको सार्वजनिक गर्दै विदेशमा पनि गीत संगीतको माध्यमद्वारा नेपाली कला संस्कृति जगेर्ना गरिनु राम्रो कुरा भएको बताउनुभएको थियो ।
विमोचित एल्बम‘नाम’मा गितकार यसु थापाद्वारा रचित पाँच वटा गीत रहेका छन् ।उक्त गीतमध्ये दुई वटामा राज सागरले तीन वटा र सुरज थापाले दुई वटामा संगीत दिनुभएको छ भने गायकमा आनन्द कार्की, अन्जु पन्त, निशा देसार, सुरज थापा र राज सागर रहनुभएको छ ।
सोही कार्यक्रममा सार्वजनिक गरिएको भिडियो भने राज सागरको स्वरमा रहेको ‘बदनाम’ बोलको गजल रहेको छ । संजय हमालले एरेन्ज गर्नुभएको उक्त गजलको भिडियोमा नायक आयुष रिजाल मोडल बर्षा खड्कालाई फिचर्ड गरिएको छ भने गितकार यसु तथा गायक राज सागरलाई समेत देख्न सकिन्छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नबिन निरौलाले सम्पादन तथा सुब्रत आचार्यले निर्देशन गर्नुभएको हो ।
सार्वजनिक कार्यक्रममा गीतकार थापाले नेपाली कला संस्कृतिलाई जीवन्त राख्न आफूले सानो प्रयास गरेको र सानो प्रयासमा प्राप्त हौसलाले आफु अझ बढि उत्साहित र प्रेरित भएको बताउनुभयो । उहाँले आफ्नो पहिलो एल्बम ‘गीताञ्जली’प्रति स्रोता र दर्शकले देखाएको मायाका कारण दोश्रो एल्बम निकाल्न सहयोग पुगेको जानकारी दिनुभयो ।सार्वजनिक गरिएको उक्त गीतमध्ये हाल दुई वटा गीतको भिडियो निर्माण गरिएको र सोको छायाङ्कन नेपाल र भारतमा गरिएको गीतकार थापाले जानकारी दिनुभयो ।