नेपाल–जर्मनी द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक बुधबार यहाँ सम्पन्न भएको छ । बैठकमा युरोप अमेरिका डिभिजन, परराष्ट्र मन्त्रालयका महाशाखा प्रमुख (सहसचिव) गणेशप्रसाद ढकाल, इन्डो–प्यासिफिक नीति, दक्षिण एसिया, जर्मनीको संघीय विदेश कार्यालय अफगानिस्तानका निर्देशक एरिक कुर्जवेलले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो । । भेटमा दुवै पक्षले नेपाल र जर्मनीबीचको द्विपक्षीय सम्बन्ध र सहयोगको समग्र अवस्थाका बारेमा जानकारी लिएका थिए । सुरुमा दुवै पक्षले नेपाल–जर्मनीबीचको समग्र सम्बन्ध र जारी सहयोगको समीक्षा गरेका थिए । सो अवसरमा सहसचिव ढकालले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोगको प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै निर्देशक कुर्जवेलले जर्मन विकास सहयोग अन्तर्गत नेपालमा भइरहेको विकास सहयोगको बारेमा जानकारी गराए । दुवै सह-अध्यक्षले दुई देशबीच उच्चस्तरीय भ्रमणको आदानप्रदानलगायत अन्तरक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले लगानी र व्यापार लगायत उत्पादनशील क्षेत्रमा साझेदारी अभिवृद्धिको महत्वलाई जोड दिए । सहसचिव ढकालले नेपालले अपनाएको व्यवसायमैत्री नीतिका बारेमा जानकारी दिँदै आगामी तेस्रो नेपाल लगानी सम्मेलनमा सहभागी हुन प्रोत्साहन गर्न र नेपालमा भावी लगानीका सम्भावनाहरू खोज्न जर्मन पक्षलाई आग्रह गर्नुभयो । त्यसैगरी बैठकमा क्षेत्रीय तथा विश्वव्यापी महत्वका विषयमा पनि छलफल भएको थियो । दुई सह-अध्यक्षहरू विभिन्न बहुपक्षीय फोरमहरूमा जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा मिलेर काम गर्न सहमत भएका छन्। साँस्कृतिक सम्बन्धलाई थप सुदृढ गर्ने, जनता–जनताबीचको सम्पर्क र सम्पर्क अभिवृद्धि गर्नेलगायतका विषयमा पनि विचार आदानप्रदान भएको थियो । नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गृह मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । त्यसैगरी, जर्मन प्रतिनिधिमण्डलमा नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज र जर्मन दूतावासका अन्य अधिकारीहरु सहभागी थिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400




