दैलेखमा पहिलो चरणको पेट्रोलियम पदार्थ अन्वेषणका लागि आवश्यक उपकरण दैलेख आइपुगेको छ । चीनबाट कोलकाता र रुपैडिया प्वाइन्ट हुँदै यस्तो उपकरण बोकेका पाँचवटा साना कन्टेनर यहाँ आइपुगेका छन् ।
अब चौबिसै घण्टा अन्वेषणको काम गरिने बताइएको छ ।
चीनबाट जिल्ला जाने ठूला कन्टेनर कर्णाली र मध्यपहाडी लोकमार्गको साँघुरो मोडका कारण बाटोमै अलपत्र परेका छन् । ती कन्टेनरका लागि बाटो खोज्ने प्रयास भइरहेको बताइएको छ । अन्वेषणका औजार बोकेर करिब १५० कन्टेनर भारतको रुपैडिया नाकाबाट दैलेखतर्फ छाडेको बताइएको छ ।
यहाँ आइपुगेका औजार मिलाउने काम भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले घटनास्थलको नियमित अनुगमन गरिरहेका छन् ।
उनले भनेअनुसार पेट्रो उत्पादनको अन्वेषणको कामलाई तीव्रता दिइएको छ । त्यसैगरी आयोजनाबाट प्रभावित भएका घरधुरीलाई रोजगारी र आर्थिक सहयोग उपलब्ध गराउन स्थानीयको मागलाई सम्बोधन गर्ने प्रक्रिया अघि बढाइएको छ ।
भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र थापाले जिल्लाभित्रै पेट्रोलियम पदार्थको जुलुस निकाल्नुपर्ने स्थानीयको माग रहेको बताए ।
नेपाल र चीनबीच भएको जीटूजी सम्झौताअनुसार आयोजना कार्यान्वयनमा आएको र सफल भएमा नेपालको समृद्धिको बाटो खुल्ने विश्वास उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर गुरुङले बताउनुभयो ।
अन्वेषणको लागि पृथ्वीको चार किलोमिटर तलसम्म ड्रिलिङ गरिनेछ। ड्रिलिङमार्फत पेट्रोलियम पदार्थ र ग्यास भण्डारणको परिमाण निर्धारण गरी अर्को चरणको काम अघि बढाउन बाटो खुल्ने अपेक्षा गरिएको आयोजना प्रमुख दिनेशकुमार नापितले बताए ।




