अर्थमन्त्री वर्षमान पुनले सरकारले खर्च गर्ने क्षमता भएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने तयारी गरेको बताएका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा विभिन्न मन्त्रालयका सचिव र सुरक्षा प्रमुखसँगको भेटमा अर्थमन्त्रीले सो कुरा बताएका हुन् ।
सो अवसरमा मन्त्री पुनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाहेक सबै मन्त्रालयले ४० प्रतिशतभन्दा कम पुँजीगत खर्च गरेको भन्दै सरकारी निकायले बजेट खर्च गर्ने क्षमता बढाउनुपर्नेमा जोड दिए ।
उनले बजेट विनियोजनमा दक्षताको कमी हुनुका साथै सीमित पुँजीगत खर्च पनि कमजोर खर्च गर्ने क्षमता रहेको औंल्याए । ‘तर, आगामी आर्थिक वर्षमा यस्तो नदोहोरियोस्, खर्च हुने सम्भावना भएका आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने मानसिकतामा अर्थ मन्त्रालय छ ।
अर्थमन्त्री पुनले अवास्तविक आयोजनाले आगामी आर्थिक वर्षमा बजेट नआउने घोषणा गरेका छन् ।
बजेट कार्यान्वयनमा ढिलाइका कारण रोजगारी सिर्जना र पूँजी निर्माणमा प्रतिकूल असर परेको भन्दै अर्थमन्त्रीले समयमा बजेट खर्च नहुने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे ।
बाह्य क्षेत्रमा विस्तारै सुधार हुँदै गए पनि सीमित पुँजीगत खर्च र राजस्व सङ्कलनमा आएको कमीले मुलुकको अर्थतन्त्रमा समस्या सिर्जना भएको उनको तर्क थियो ।




