रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षा मन्त्रालय मातहतका निकायलाई तोकिएका विकास र निर्माण आयोजनामा लक्ष्यअनुरूप प्रगति हासिल गर्न थप मिहिनेत गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा आज मन्त्रालयमा बसेको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रीस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री उप्रेतीले काठमाडौं–तराई/मधेस द्रुतमार्गको निर्माण तोकिएको समयभित्रै सम्पन्न हुने बताए ।
द्रुतमार्ग निर्माण राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै मन्त्री उप्रेतीले जनतामा आशा जगाउने यस्ता आयोजना समयमै सम्पन्न हुनुपर्ने बताए । “आर्थिक वर्ष २०२४/२५ को नीति तथा कार्यक्रममा राजमार्ग निर्माणलाई प्राथमिकतामा राखिएको छ। २०२६ वैशाखसम्ममा राजमार्ग निर्माण गरिसक्नु पर्छ। समयमै नतिजाका लागि कडा मेहनत गर्नुपर्छ,” उनले भने ।
नेपाली सेनाले निर्माणाधीन सडक पूर्वाधारको प्रगति सन्तोषजनक रहेकोमा खुसी व्यक्त गर्दै उनले स्रोतसाधन अभावका कारण अहिलेसम्म कतिपय आयोजनाले अपेक्षित प्रगति गर्न नसकेको बताए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले रक्षा मन्त्रालय र मातहतका निकायको लक्ष्य प्रगति सन्तोषजनक रहेको ८० प्रतिशतभन्दा बढी रहेको बताए । उनले राष्ट्रिय गौरवको आयोजनाको लामो दुरीका लोकमार्ग, उत्तर–दक्षिण सडक करिडोर समयमै निर्माणमा ध्यान दिन सुझाव दिए ।
प्रधानसेनापति प्रभुराम शर्माले सरकारले दिएको जिम्मेवारी पूरा गर्न नेपाली सेना लागिपरेको जानकारी दिँदै सेनाले प्रचलित नियम कानुनको दायराभित्र रहेर काम गरिरहेको बताए ।
द्रुतमार्गसहित अग्लो पुल र दोहोरो सुरुङ निर्माणको काम सुरु भइसकेको जानकारी दिँदै उनले आयोजना समयमै सम्पन्न हुने विश्वास दिलाए । कूल सैनिक जनशक्तिको १० प्रतिशत प्रकृति संरक्षणमा समर्पित भइसकेको जानकारी दिँदै प्रधानसेनापति शर्माले यो प्रयास विश्वमै उदाहरणीय रहेको बताए ।