मनसुन सुरु भएदेखि हालसम्म मनसुनमा बाढी, पहिरो, चट्याङलगायतका विपद्का कारण ६२ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् भने ९० जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले तथ्याङ्कको जानकारी दिएको हो ।
यस अवधिमा बाढीका कारण मोरङमा एक, दाङमा तीन, कैलालीमा एक, काभ्रेपलाञ्चोकमा दुई, उदयपुरमा एक, पाल्पामा नौ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।
बाढीका कारण दुई जना बेपत्ता भएका छन् । पाँच घर पूर्णरुपमा क्षति भएको छ । ११ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै पहिरोमा परी ३४ जनाको ज्यान गएको छ । प्राधिकरणको तथ्यांकअनुसार पहिरोमा परी दुई जना बेपत्ता र ३८ जना घाइते भएका छन् ।
त्यसैगरी पहिरोबाट ४३ घर पूर्णरुपमा र २४ घरमा आंशिक क्षति पुगेको छ । १९ गोठमा क्षति पुगेको छ भने १२ जना घाइते भएका छन् । त्यसैगरी डुबानबाट ११ घर पूर्णरुपमा र ६ घरमा आंशिक क्षति पुगेको छ ।
बाढी र पहिरोबाट हालसम्म आठ करोड ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । तथ्यांकअनुसार चट्याङ लागेर १९ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
‘बाढी, पहिरो, डुबान र चट्याङजस्ता मनसुनका घटनाहरू अझै बढिरहेका छन्, क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरेर अगाडि बढिरहेका छौं,’ प्राधिकरणका प्रवक्ता डा. दिजन भट्टराईले भने ।
यो वर्ष औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ र १८ लाख मानिस प्रभावित हुने भएकाले सतर्कता अपनाउन जरुरी रहेको उनले बताए ।
उनका अनुसार यस वर्षको मनसुन अवधिमा ४ लाख १२ हजार घरधुरी मनसुनसँग सम्बन्धित विपद्बाट प्रभावित हुने अनुमान छ ।
सोमबारदेखि देशभर बाढीको जोखिम कम हुने जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए ।