सोमबार रातिदेखि परेको अविरल वर्षाले देशैभरको उडान प्रभावित भएको छ । लगातारको वर्षाका कारण भिजिबिलिटी कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएको छ ।
टिआइएका महाप्रबन्धक जगन्नाथ निरौलाले टर्किस एयरलाइन्सको विमानलाई भारतको लखनउ र एयर इन्डियाको जहाज बनारसका लागि डाइभर्ट गरिएको बताए ।
वर्षाका कारण नियमित आन्तरिक उडान प्रभावित भएको र उडानमा ढिलाइ भएको प्राधिकरणले जनाएको छ । भिजिबिलिटीमा सुधार आएसँगै अहिले टिआइएबाट नियमित उडान भइरहेको निरौलाले बताए ।
आज र भोलि भारीदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।




