मिति: २०८१/०७/२४
वर्ल्ड वाईड मिडियाद्वारा आयोजना गरिएको जेष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। कार्यक्रममा शंखारापुर नगरपालिकाका जेष्ठ नागरिक, सानुनानी दंगाल र आशालाल श्रेष्ठ तथा पत्रकार कृष्ण भुसाल र कलाकार राजकुमार शाह र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठलाई विशेष सम्मान प्रदान गरियो।
कार्यक्रममा नगर प्रमुख रमेश नापित प्रमुख अतिथि हुनुहुन्थ्यो भने उप-नगर प्रमुख समिता श्रेष्ठ, पूर्व नगर प्रमुख सुवर्ण श्रेष्ठ, र विभिन्न समाजसेवीहरू लगायत अन्य अतिथि उपस्थिति रहेका थिए। कार्यक्रममा चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो, जसमा बिन्दु परियार, चेतन राई, कृष्ण राज भण्डारी, रन्जीत लामा, रमेश पाठक, तुलासा वि.क., कविता मगर, सोना थापा मगर तथा स्थानीय कलाकारहरू समेत सहभागी थिए।
यस विशेष अवसरमा, गायक रामकृष्ण श्रेष्ठ, सिम्रन परियार, र सन्तोषी कार्कीको नयाँ गीत “सिठ्ठी बजाउदै” सार्वजनिक गरियो थियो। उक्त गीतका शब्द विष्णु भण्डारीले लेख्नुभएको हो भने संगीत सरोज पोख्रेलको रहेको छ। गीतमा सोनाम पाख्रिनको निर्देशनमा मोडल सरोज प्रजा र विना राउतले अभिनय गरेका छन्।
कार्यक्रममा आयोजक समेत रहेका टेकराज पाण्डे, सौन्दर्य कर्मी राधिका खत्री, लक्ष्मण खड्का, र लक्ष्मी खड्कालाई विशेष सम्मान प्रदान गरेका थिए। उक्त कार्यक्रममा सुभाश कार्कीले भिडियो खिचेर सहयोग पुर्याएका थिए।
यस कार्यक्रमले जेष्ठ नागरिकप्रति सम्मानको भावना जागृत गर्नुका साथै, समाजसेवी र कलाकारहरूको योगदानको कदर गरेको छ।
कार्यक्रमको अन्त्यमा आयोजक वर्ल्ड वाईड मिडियाले सबै अतिथिहरू, सम्मानित व्यक्तिहरू, कलाकारहरू, र उपस्थित दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरूमा यस्ता सम्मानजनक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिरहने प्रतिबद्धता व्यक्त गर्यो। यो कार्यक्रमले जेष्ठ नागरिकहरूको सम्मान र सांगीतिक क्षमताको प्रोत्साहन गर्दै सबैलाई एकसाथ जोड्न सफल भएको महसुस गरिएको थियो।
























