विद्रोहपछिको बजार : नेप्से ध्वस्त, लगानीकर्ता अझै अनिश्चिततामा

0
67

काठमाडौं, असोज ०२

हालैको Gen-Z आन्दोलनले नेपाललाई राजनीतिक मात्र होइन, आर्थिक रुपमा पनि हल्लाएको छ। करिब एक सातादेखि बन्द रहेर पुनः खुलेको शेयर बजार बिहीबार पूर्णरूपमा संकटग्रस्त देखियो। कारोबार सुरु भएको केही मिनेटमै लगातार तीनपटक सर्किट ब्रेक लागेर बजार १६० अंकले ओरालो लागी २५११.९१ आइपुग्दा लगानीकर्ताको मनोबल झनै कमजोर भएको छ।

विशेषज्ञहरूका अनुसार यो गिरावट केवल शेयर मूल्य घट्नु मात्र होइन, विश्वासको संकट हो। Gen-Z आन्दोलनका क्रममा भौतिक संरचनाहरुमा ठूलो मात्रामा आगजनी, व्यावसायिक भवन ध्वस्त र सरकार परिवर्तनले लगानीकर्तामा “सुरक्षा ग्यारेन्टी छैन” भन्ने सन्देश पुगेको छ। धेरै व्यवसायी दशैं खर्च जुटाउन सेयर बेच्न बाध्य भएकोले गर्दा आज केही मिनेट खुलेको बजारमा समेत लगानीकर्ताहरु बेच्न सक्रिय हुँदा बजारमा अतिरिक्त दबाब ल्याएको छ।

आज सबैभन्दा घट्ने उप-सूचकमा व्यापार रहेको छ; ९.३४ अंक। पूँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको विशाल बजार ९.५२ प्रतिशतले घट्दा यस समूहमा प्यानिक सिर्जना भएको छ । त्यसपछि गिरावट आएको उप-सूचकमा अन्य समूहको रहेको छ; ७.४८ प्रतिशत, होटल तथा पर्यटन उप-सूचक ७.२४ प्रतिशत, लगानी उप-सूचक ७.१८ प्रतिशत, जीवन बीमा उप-सूचक ६.६६ प्रतिशत, बैंक उप-सूचक ५.५२ प्रतिशत, निर्जिवन बीमा उप-सूचक ५.४२ प्रतिशत, हाइड्रोपावर उप-सूचक ५.४० प्रतिशत, विकास बैंक उप-सूचक ५.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन उप-सूचक ५.०२ प्रतिशत, फाइनान्स उप-सूचक ४.५२ प्रतिशत, लघुवित्त उप-सूचक ४.०८ प्रतिशत र म्यूचअल फण्ड उप-सूचक ०.३१ प्रतिशतले गिरावट भएको छ।

यद्यपि राजनीतिक संक्रमण, आगामी निर्वाचनको अनिश्चितता, र पुनर्निर्माणमा ढिलाइ भएमा बजार अझै अस्थिर रहन सक्ने अवस्था पनि देखिन्छ। हाललाई बिहीबारको घटना नेपालमा राजनीतिक संकट र वित्तीय बजारबीचको गहिरो सम्बन्धलाई छर्लङ्ग पार्ने एउटा उदाहरण बनेको छ।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here