लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्डले १५ मिनेटको औसत गणना विधि स्थगित

0
59

काठमाडौं, २०८२ असोज ०४
धितोपत्र बजारमा १५ मिनेटको औसत मूल्यलाई अन्तिम कारोबार मूल्यका रूपमा लिने व्यवस्था हट्ने भएको छ। धितोपत्र बोर्डले आज बसेको बैठकमार्फत उक्त प्रावधान तत्काल लागू नगर्ने निर्णय गरेको हो।

लगातार बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयासस्वरूप बोर्डले औसत मूल्य प्रणालीलाई हालका लागि स्थगित गरिएको बताएको छ। यसअघि यो व्यवस्था लागू भएपछि मूल्य निर्धारण कृत्रिम भएको र लगानीकर्ताको हित विपरीत असर परेको भन्दै चर्को आलोचना हुँदै आएको थियो।

बिहानैदेखि लगानीकर्ताहरू धितोपत्र बोर्डको कार्यालय अगाडि भेला भई विरोध जनाइरहेका थिए। उनीहरूको दबाबपछि बोर्डले आकस्मिक छलफल गरी तत्कालै औसत मूल्य विधि रोकेर बजारलाई पहिलेको जस्तै अन्तिम कारोबार मूल्यमै निर्भर हुने प्रणालीतर्फ फर्काउने घोषणा गरेको हो।

यसअघि विभिन्न लगानीकर्ता संघ–संगठनले सरकारलाई ज्ञापनपत्र बुझाउँदै धितोपत्र क्षेत्रमा सुधारका लागि ५ बुँदे माग अघि सारेका थिए। अर्थ मन्त्रालयलाई बुझाइएको उक्त ज्ञापनपत्रमा, धितोपत्र क्षेत्रमा पारदर्शिता र विश्वसनीयता कायम गर्न अनावश्यक Caps हटाउनुपर्ने, नियामक निकायहरूबीच समन्वय गर्नुपर्ने, स्टक एक्सचेन्ज र डिपोजिटरी प्रणाली सुधार गर्नुपर्ने, र दीगो सुधारका लागि ‘Omnibus Reforms’ कार्यान्वयन गर्नुपर्ने माग राखिएका थिए।

आजको निर्णयले लगानीकर्ताहरूको प्रमुख मागमध्ये एक — औसत गणना प्रणाली हटाउने — प्रत्यक्ष रूपमा सम्बोधन भएको छ।

आइतबारदेखि लागू हुने नयाँ व्यवस्थाअनुसार अन्तिम कारोबार मूल्यलाई नै अन्तिम मूल्य मानिनेछ, जसले बजार सञ्चालन सहज हुने लगानीकर्ताहरूले आशा व्यक्त गरेका छन्।


worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here