काठमाडौं, असोज ६ – नेपालीहरूको महान् चाड दशैंको प्रारम्भ आज घटस्थापनासँगै भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घर–घरमा घटस्थापना गरी देवी दुर्गाको आवाहन गरिन्छ। यस दिनलाई दुर्गापक्ष वा नवरात्रको सुरुवातको दिनका रूपमा पनि मानिन्छ।
घटस्थापनाका दिन बिहानै उपयुक्त साइतमा विधिपूर्वक कलश स्थापना गर्ने गरिन्छ। कलशलाई पवित्र जलले भरि, वरिपरि गोबरले लिपेर, माथि जौ, गहुँ, मकै (जमरा) रोप्ने चलन छ। त्यही जमरा दशौं दिन अर्थात् विजया दशमीका दिन टीकासँगै आशीर्वादस्वरूप ग्रहण गरिन्छ।
पारम्परिक विश्वास अनुसार, घटस्थापनाको दिनदेखि लगातार नौ दिनसम्म देवी दुर्गाका विभिन्न रुपहरूको पूजा आराधना गरिन्छ। यसलाई नवरात्र भनिन्छ। घर–घरमा अखण्ड दीप प्रज्वलन गरिन्छ, जसले देवी शक्तिको प्रतीकात्मक उपस्थितिलाई जनाउँछ।
शहरदेखि गाउँसम्म आजको दिन विशेष उत्साहका साथ मनाइँदैछ। काठमाडौं उपत्यकासहित देशभरका शक्तिपीठ तथा मन्दिरहरूमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। दशैंलाई राष्ट्रिय एकता, पारिवारिक मेलमिलाप र शुभकामनाको पर्वका रूपमा लिइन्छ।
दशैं पर्वलाई नेपाली समाजमा असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्यापक श्रद्धाका साथ मनाइन्छ। यस पर्वसँग सम्बन्धित दुर्गा पूजालाई कुनै एक जात वा धर्मविशेषसँग मात्र जोडेर हेर्नुपर्ने आधार धर्मशास्त्रमा नभएको विद्वान्हरू बताउँछन्। बरु, यो चाडलाई सम्पूर्ण मानवजातिको कल्याण, शान्ति र समृद्धिको पक्षमा कार्य गर्ने शक्तिको अभिव्यक्ति र उत्सवका रूपमा ग्रहण गरिन्छ।




