- डा.डिआर उपाध्याय
संसद् विघटनपछि दिनौं जसो सडक आन्दोलन भईराखेका छन । आन्दोलनमा भिडभाड हुने हुदा कोरोनाको जोखिम पनि बढेर गएको छ। दलहरुका बैठक, भेला, लगायतका गतिविधिहरु बढिरहेका छन । कोरोना संक्रमणको जोखिमप्रति सचेत बन्नु पर्ने आबश्यकता देखिएको छ । सचेत बन्न सकिएन भने फेरि पनि कोरोनाले अर्को महामारीको रूप नलेला भन्न सकिँदैन। तसर्थ सुरक्षित तरिकाबाट राजनीतिक गतिविधि गर्नेतर्फ दलहरुले ध्यान दिनुपर्छ। पछिल्लो समय कोरोनाको जोखिम केही कम भएको अनुमान छ । तर पूर्णरुपमा कोरोना नियन्त्रणमा आउन सकेको छैन ।
दुईपटकसम्म लकडाउन भयो । त्यति गर्दा पनि कोरोना नियन्त्रणमा आउन सकेन । सरकारले बाध्य भएर लकडाउन फुकुवा गरेको हो । व्यक्तिगत सुरक्षाको ख्याल गरेर मात्रै कार्यक्रम गर्न सरकारले बारम्बार अनुरोध गरिरहेको छ। सरकारी अनुरोधको बेवास्था कसैले पनि गर्नु हुदैन । भिडभाड जस्ता गतिबिधिले कोरोनाको अर्को जोखिम निम्त्याउने हो कि भन्नेप्रति सबै चिन्तित छन। कोरोना संक्रमण नियन्त्रणका लागि समाजमा जनचेतना फैलाउन जरुरी भएको छ । जिम्मेवार व्यक्तिले नै हेलचक्रयाईं गरेर कार्यक्रम गरिरहेका छन । यो गलत हो ।
कोरोना नियन्त्रणमा सरोकारवाला सबैले हातेमालो गरेर जानु पर्छ । संक्रमणको ख्यालै नगरी हुल बाँधेर कार्यकर्ता भेला गराउँदा जोखिम निम्तिन सक्छ । दलबाट भएका यस्ता गतिविधिलाई राम्रो मान्न सकिँदैन। राजनीतिक दलले कोरोना संक्रमण रोक्न केन्द्रदेखि स्थानीय स्तरसम्म कार्यकर्ता परिचालन गरेर सचेतना कार्यक्रम चलाएको भए राम्रो हुन्थ्यो । यसो गरेको भए जनताको मन जित्न सकिन्थ्यो । तर कुनै पनि दलले यसलाई सदुपयोग गर्न सकेनन् । जनताका स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर मात्रै दलहरुले गतिविधि बढाउनु पर्छ । आउने दिनमा यस्ता कार्यक्रम गर्दा होसियारी अपनाउनुपर्छ।