ओलीलाई मात्र दोष देखाएर नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन

0
369

-डा.डिआर उपाध्याय

अहिले मुलुक फेरि राजनीतिक अस्थिरतातिर जाने हो की भन्ने चिन्ता छ । लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्तिहरुका बिच सहकार्यको जरुरी देखिएको छ । सत्ताधारी दलबीचकै आन्तरिक किचलोका कारण अचानक संसद् विघटन भयो त्यसले समग्र मुलुकलाई क्षति पु¥याएको छ। त्यसमध्ये पनि सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने श्रमिक वर्गलाई असर परेको छ । लामो समय लकडाउन झेलेर आर्थिक रूपले थिलथिलो भएका गरिखाने मजदुर वर्ग फेरि राजनीतिक अस्थिरताको मार झेल्नुपर्ने अवस्था सृजना भएको छ। कम्युनिष्टहरुले सर्वहारा श्रमिक वर्गको मुक्तिको लागि भन्दै राजनीति गरे त्यही विश्वासको आधारमा सबै गरिखाने अधिकांश मजदुर वर्गले कम्युनिस्टलाई सहयोग गरेरै बहुमत दिएका हुन्। तर ती श्रमिक मजदुरले आजसम्म कम्युनिस्ट सरकारबाट के पाए ? सर्वसाधारण वा मजदुर वर्ग सबैले अब अस्थिरताको राजनीति अन्त्य होस् र पूर्ण पाँच वर्ष सरकार चलाओस भनेरै कम्युनिस्टलाई भोट हालेका हुन्। तर जनताले सोचे बमोजिम कम्युनिष्ट सरकारले स्थिरता दिन सकेन । राजनीतिक अस्थिरतामा केपी ओली मात्र दोषीको भागीदार छैनन् । यो अवस्था ल्याउनमा समग्र नेकपाका नेताहरू पनि दोषका भागीदार हुन्। यो समस्यामा ओलीलाई मात्र दोष देखाएर प्रचण्ड, माधव नेपाललगायतका नेताहरु पानी माथिको ओभानो बन्न मिल्दैन ।कम्युनिष्टलाई जनताले पूर्ण अवधि राज्यसत्ता सञ्चालनका लागि झन्डै दुईतिहाइ बहुमतको सरकार दिएका हुन्। तर उनीहरुले अल्पायुमै सरकार ढालेर अस्थिरताको बीउ रोपे । यो नेपाली जनतालाई स्वीकार्य कुरा होइन । के फेरि मध्यावधि चुनाव गरेर अर्बौं रुपैयाँ स्वाहा पार्न जनताले उनीहरुलाई मत दिएका हुन्त ? चुनावका लागि खर्च हुने अर्बौँ रुपैयाँको भार नेपाली जनताको टाउकामै थोपरिने हो । अहिलेको युवा पुस्ता राजनीतिप्रति त्यति आकर्षित छैनन् । युवापुस्तालाई सरकारप्रतिको वितृष्णा मात्र नभइ पद्धतिप्रति नै वितृष्णा बढ्न थालेको देखिन्छ। अब राजनीतिक दल र तिनका नेताहरू यो विषयमा सचेत हुन जरुरी छ । अब दलहरु विगतका कमी कमजोरीलाई सच्याएर अघि बढ्नु पर्ने आवश्यकता देखिएको छ । दलहरु फुटेर होइन जुटेर मात्र लोकतन्त्र बलियो हुन्छ । अहिले नेकपाका दुई समूह बिच जुन किसिमका गतिविधि भैरहेका छन् त्यसले लोकतन्त्रलाई कमजोर पार्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here