मनास्लु वल्ड कलेजको स्वागत तथा बहृत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको हो ।
कलेजले स्थापनाको पहिलो वर्ष कक्ष ११ मा अध्ययनरत पहिलो व्याचका विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।
चाबहिलस्थित स्मार्ट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा नविनीकरण आवश्यकता रहेको बताउँदै पुरानो पाठ्यक्रम अनुसार पढाउनाले विद्यार्थी पछाडि पर्ने बताए ।
कलेजका अध्यक्ष गेन्द्र लामाले कलेज शिक्षा क्षेत्रमा केही नयाँ सोचका साथ शुरु गरिएको र विद्यार्थी भर्ना मात्र नभएर असल विद्यार्थी उत्पादन कलेजको मुख्य उदेश्य रहेको बताए । लामाले मनास्लुले खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउँदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बसडरमा नियुक्त गरेको पनि कार्यक्रमा जानकारी दिए । उनले विभिन्न खेलका करिब ५५ खेलाडीलाई मनास्लुले प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको पनि बताए ।
स्वागत कार्यकममा कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले कलेजको बारेमा जानकारी गराउँदै कलेज कोभिडकै समयमा स्थापना भएको र स्थापनाका लागि धेरै मिहेनत र खटाइ परेको बताए ।
कार्यक्रममा दक्षिण एशियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णधारी मण्डेकाजी श्रेष्ठलाई सम्मान गरेको छ । श्रेष्ठले २०७६ साल मंसिरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण जितेका थिए । कार्यक्रमा सञ्चारकर्मी ऋषि धमला, युवा सामाजिक अभियन्ता शिशिर भण्डारी र संचारकर्मी राजेन्द्र लुइँटेललाई पनि सम्मान गरिएको थियो ।
कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, राष्ट्रिय कलाकार प्रकाश सपुत, एलिना चौहान लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।