नेताहरु फुटेर होइन, जुटेर अघि बढ

0
458

-डा.डिआर उपाध्याय,

देशको राजनीति अहिले उतारचढावमा छ । मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरण बढेर गएको छ । अब के हुन्छ, कसको सरकार बन्छ ? अहिले यी प्रश्न उठेका छन । अव नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ? जनता समाजवादी पार्टीले के सोचेको छ ? नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । नेकपाको आधिकारिकता ऋषि राम कटेलले पाएका छन । सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ । पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो ।

प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ । देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ । नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् । अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदै छन । एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य हुन सकिरहेको छैन । नेकपा आधिकारिकताको विवाद टुङ्गो लागेको छ । तर प्रचण्ड–माधव समूह यसमा असन्तुष्ट देखिएका छन । ओली समूहले अदालतको फैसला स्वागत गरेको छ । हिजो सम्म दुवै पक्षले आफ्नो गुट नै आधिकारिकता हुने भन्दै पार्टी सदस्यलाई कारबाही, मनोनयनजस्ता कार्य गर्दै आएका थिए । दुवै समूहले सार्वजनिक सभा, समारोह, कार्यकर्ता भेला छुट्टाछुट्टै गर्दै आए । ती कार्यक्रममा एक समूहले अर्को समूहलाई गाली गलौज, आरोप प्रत्यारोप लगाउने कार्य गरे ।

यसप्रकारको गलत राजनीतिले देशलाई कहाँ पु¥याउला ? नेपाली जनताले नेकपालाई विश्वास गरेर दुईतिहाइ मत दिएका हुन ।अहिले जनता माथि ठूलो घात भएको छ । नेपाली जनताको पीर–मर्का नेताहरुले बुझन सकेनन । विकास निर्माणको काम गर्न छाडेर नेताहरु एक आपसमा लडने यो कस्तो राजनीति हो । समृद्ध र सम्पन्न नेपाल बनाउने कि एक–आपसमा झगडामात्रै गरेर सिङ्गो पार्टी नै चकनाचुर बनाउने ? अहिलेको परिस्थिति आउनुमा नेकपाका दुवै पक्षको बराबरी जिम्मेवारी छ । पहिले नै नेकपाका एक अध्यक्षले पार्टी सञ्चालन गर्ने र अर्कोले सरकार सञ्चालन गर्ने निर्णय गरेका हुन । त्यो निर्णय पनि कार्यान्वयन भएन । सर्वोच्च अदालतको फैसलापछि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीले राजीनामा दिने अनुमान गरेका थिए ।

जुन अपेक्षा थियो, त्यो पूर्ण भएन । यतिखेर ओली पक्ष सरकार कायम राख्ने र प्रचण्ड–माधव समूह गिराउने खेलमा रहेको देखिन्छ । नेपाली काँगे्रस, जनता समाजवादी पार्टीलगायतका राजनीतिक दलसँग दुवै समूहले सरकार गठनमा सहयोग गर्न भन्दै भेटघाटलाई तीव्रता दिइरहेका छन् । वास्तवमा यतिखेर नेपाली काँग्रेसले नेपाली राजनीतिमा देखिएको वर्तमान अवस्थाको चिरफार गरी अघि बढनु पर्ने देखिन्छ । विगतमा भएका कमीकमजोरी आत्मसात् गर्दै दुवैसमूह मिल्नु पर्छ । अझै पनि पार्टी फुट हुनबाट जोगाउन सकिने ठाउँ छ । नेकपामा देखिएको विवादलाई चाँडो टुङ्ग्याउनुपर्छ । आमनेपाली नागरिकले नेताहरू मिली पार्टी एक भएको हेर्न चाहेका छन्, फुटेको हैन । गुट, उपगुट र फुटको राजनीतिले कहिल्यै देश बन्दैन । नेताहरु फुटेर होइन, जुटेर अघि बढ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here