तीन दिने नेपाल वुमन चेम्बर ट्रेड फेयर भव्य रुपमा सम्पन्न

0
626

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वाषिर्कोत्सव तथा १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित तीन दिने नेपाल वुमन चेम्बर ट्रेड फेयर सम्पन्न भएको छ ।

नेपाल महिला चेम्बरले आयोजना गरेको मेलाका उत्कृष्ट सहभागी एवं स्टलहरूलाई पुरस्कृत गरिएको थियो ।

सहभागीलाई कार्यक्रमका प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका थिए । फेयरमा सहभागी मण्डला सिल्कले प्रथम स्थान प्राप्त गरेको थियो भने अग्नि नेपाल प्रालिले द्वितीय र गोर्खा चेम्बर अफ कमर्सले तृतीय स्थान हासिल गरेको थियो ।

पुरस्कार वितरण गर्दै महानिरीक्षक खनालले महिलाको सम्मान हुने समाजमात्र सभ्य समाज हुन सक्ने बताए । साना र घरेलु उद्योगहरूलाई प्रबर्द्धन गर्दै मुलुकलाई औद्योगीकरणको मार्गमा लैजान उनले व्यवसायीहरूलाई आग्रह गरे ।

मेला समापन कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले महिला उद्यमीहरूको हौसला बढाउन र उनीहरूद्वारा उत्पादित सामग्रीहरूको बजारीकरण गर्न कार्यक्रम सफल भएको बताए । ‘हामी महिला उद्यमी तथा व्यवसायीहरूले उत्पादन गर्ने सामग्रीहरूलाई राम्रो प्याकेजिङ गरी निर्यात गर्ने अभियानमा छौँ’, अध्यक्ष श्रेष्ठले भने ।

ट्रेड फेयर आयोजक नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिला उद्यमीहरूको स्तर तथा क्षमतावृद्धि गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता कार्यक्रमहरू गरिरहेको बताइन् । कार्यक्रममा मेला अवधिभर मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरे वापत गायक सपन श्रेष्ठ, गायक रामकृष्ण श्रेष्ठ, गायिका सरु गौतम, गायिका रिता केसी ,लब बहादुर कार्की तथा प्रकाश सापकोटालाई सम्मान गरिएको थियो ।

मेलामा दैनिक उपभोग्य साधन, खाद्यान्न, हस्तकला, परम्परागत सामग्री, गरगहना, कपडा, जुत्ता लगायतका ९० स्टल राखिएको थियो । देशका चर्चित कलाकारहरुको आकर्षक प्रस्तुती समेत रहेको फेयरमा उल्लेख्य मात्रामा ग्राहकहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here