- डा.डिआर उपाध्याय,
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सवै क्षेत्रमा अन्योल सिर्जना गरेको छ । नेपालको राष्ट्रिय राजनीतिको बिषयमा बिभिन्न कोणवाट फेरि नयाँ खालको बहस सुरु भइरहेको छ । यति बेला नेपालको कम्युनिस्ट आन्दोलनको बिषयमा बिभिन्न खालका टीका–टिप्पणी भइरहेका छन् ।
अव नेपालको कम्युनिष्ट आन्दोलन के हुन्छ ? भन्ने प्रश्न पनि उठेको छ । प्रतिनिधिसभा पुनःस्थापना हुनु आफैँमा एउटा महत्वपूर्ण कुरा हो । तर संसद विघटनको परिस्थिति किन सिर्जना भयो भन्ने प्रश्न महत्वपूर्ण हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा किन विघटन गरे ? यो प्रश्नको जवाफ कुनै बेला खोजिएला यो बेग्लै कुरा हो । तर अहिले संसद पुनस्थापना भएको परिस्थिती छ । अहिले जवाफ खोजेर अल्मलिने बेला छैन । देशमा देखिएका तमाम समस्या समाधान गदै अघि बढनु पर्ने बेला हो यो । देशमा कुनै पनि सरकार पाँच वर्षसम्म नटिक्ने कारण के हो ? यसको खोजि गर्नु पर्ने बेला आएको छ । मुलुकमा बारम्बार राजनीतिक अस्थिरता निम्त्याउने तत्व कुन हो त्यो चिन्न जरुरी भएको छ । प्रतिनिधिसभा विघटन नहुनु पर्दथ्यो । यसले गलत सन्देस दियो ।
आजको राष्ट्रिय राजनीति र त्यसबाट उत्पन्न परिस्थितिलाई सवैले सूक्ष्म ढङ्गले बुझ्न जरुरी भैसक्यो । संसद्को पुनःस्थापना भएपछि पनि राष्ट्रिय राजनीति अगाडि बढन सकेन । नयाँ संविधान जारी भएपछि मुलुक नयाँ युगमा प्रवेश ग¥यो भन्ने आम नागरिकमा बिश्वास थियो । तर त्यो बिश्वास अहिले टुटेको छ । जनता पुरै निराशमा छन । राजनीतिक हक–अधिकार प्राप्तिको लामो लडाइँ पूरा भयो भन्ने थियो तर त्यो अवस्था अझै देखिएन । मुलुक आर्थिक समृद्धिको यात्रामा अघि बढन सकेन । त्यसमा धेरै बाधा अडचनहरु देखिए । मुलुक नयाँ चरणमा प्रवेश गर्न सकेन । यो नै मुलुकको लागी दुरभाग्य हो । यो यात्रा अगाडि बढाउनका लागि आफनै पाटी बाट बाधा अडचन खडा भयो । समस्या यो हो । राजनीतिक दल र नेतृत्व बर्ग सहि बाटोमा लाग्न सकेनन ।
देशमा बिकास र समृद्धि आउन सकेन । राजनीतिक स्थिरता नै बिकास र समृद्धिको अनिवार्य सर्त हो । देशमा राजनीतिक स्थिरता कायम गरेर समृद्धिको यात्रालाई अगाडि बढाउनु पर्दथ्यो , त्यसो हुन सकेन । देशको बिकास र समृद्धिका लागी भन्दै केपी ओलीको नेतृत्वमा नेपालका दुई प्रमुख कम्युनिस्ट घटकबीचमा एकता भयो र त्यसको परिणामस्वरूप निर्वाचनको माध्यमबाट करिब दुईतिहाइ जनमत प्राप्त गर्दै केपी ओलीको नेतृत्वमा सरकार गठन भयो । पाँच बर्षको कार्यकाल नसकिदै पाटी भित्र लफडा सुरु भएर अहिले नेकपा नै समाप्त भएको छ ।
पहिलो संविधासभाबाट त संविधान बनेन, दोस्रो संविधानसभाबाट बल्ल बल्ल संविधान जारी भयो । संविधान बन्न नदिने, बने पनि आफ्नो स्वार्थ परिपूर्ति हुनेगरी मात्र बन्न दिनेगरी आन्तरिक र बाह्य चलखेल भइरहेका थिए । नेपालको नयाँ संविधान सजिलै बनेको होइन । हाम्रा छिमेकी मुलुकले तीव्र विकासको फड्को मार्दासमेत हामी अझै अविकसित मुलुकका रूपमा परिचित छौँ । आयातमुखी अर्थतन्त्र र परनिर्भरताको लामो विरासतले गर्दा मुलुक दयनीय अवस्थामा रुमल्लिरहेको छ । आज मुलुक एउटा ऐतिहासिक मोडमा आएर उभिएको छ । अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएको छ । अब सत्ता प्राप्ति र शक्ति सङ्र्घषको लडाइँमा नतिजा आफ्नो पक्षमा पार्ने होडबाजी सुरु हुँदै छ । अदालतबाटै नेकपाको एकीकरण बदर भएको छ र पूर्व दुई कम्युनिस्ट पार्टी पूर्ववत् अवस्थामै पुगेका छन् ।
अब नेकपा फेरि एकीकृत भएर अगाडि बढ्छ कि विभाजित नै रहन्छ भन्ने विषय नै चासो र सरोकार बनेको छ । यो जटिल परिस्थितिमा मुलुकका अगाडि केही ऐतिहासिक अभिभारा रहेका छन् । एकातिर राष्ट्रिय हित र स्वार्थलाई केन्द्र भागमा राख्दै राष्ट्रिय स्वाधीनताको लडाइँलाई रचनात्मक र सिर्जनात्मक तरिकाले गन्तव्यमा पु¥याउने एउटा प्रमुख दायित्व हाम्रो सामु छ । अर्कोतर्फ वर्गीय हितको पक्षपोषण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय नारा पूरा गर्ने र समाजवादको लागि आधारशिला खडा गर्ने सर्वाधिक महत्वपूर्ण कार्यभार पनि छ । तर त्यो पुरा हुन यो राजनीति गतिविधिले हुदैन ।