राजनीतिक दल र तिनका नेताहरु देश प्रति इमान्दार हुन जरुरी

0
185

-डा.डिआर उपाध्याय,

राजनीतिमा विसंगति र विकृति मौलाउँदै जादा समस्या उत्पन्न भएको छ । यो समस्या समाधानका लागी जनता पनि जागरुप र सचेत बन्दै जानु पर्ने आबश्यकता देखिएको छ । देश र जनताको पक्षमा खुलेर काम गर्न नसक्दा दलहरू अप्रिय बन्दै गएका छन । राजनीतिक दल र तिनका नेताहरुले देश र जनताको पक्षमा राम्रो काम गर्न नसक्दा जनताले दलभन्दा राजतन्त्र नै ठिक हो की भन्न थाले । तर यो परिस्थिती भने आउन दिनु हुदैन । दल र तिनका नेताहरुले आफ्नो छवि सुधार्दै जानु पर्छ । जे जस्तोसुकै भए पनि जनताका प्रतिनिधि भनेका दलका नेताहरु नै हुन ।

लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । राजनीतिक दलका नेता भ्रष्टाचारमा लिप्त हुन पुगे । स्वच्छ छवि भएका नेता भेटिन कठिन हुँदै गएको छ । नेताहरुमा रातारात नवधनाढ्य बन्ने प्रतिस्पर्धा चल्दै गयो । यसले राम्रो संकेत देखाएको छैन । सर्वसाधारण जनताले आफ्ना प्रतिनिधिको क्रियाकलाप नजिकबाट हेर्न विवश छन । दल गलत क्रियाकलापमा उद्यत रही जनताबाट आलोचित भइराखेको अवस्था छ । आम निर्वाचनमा नेपाली जनताले सवै फैसला गर्नेवाला छन । सत्तामा पुगेका दलको प्रभाव नकारात्मक बनिराखेको अवस्था छ । सत्ता स्वाथर्मा परिणत भएका राजनीतिक दलबाट देशको अवस्था अझै अस्तव्यस्त बन्ने देखिँदै गएको छ ।

दलको व्यक्तिगत र दलगत स्वार्थकै कारण देश अघि बढन सकेको छैन । यो सबै परिस्थितिको आमन्त्रण हाम्रा नेताबाटै भएको हो । नेपाली जनताले यो सुस्म ढंगले हेरिरहेका छन । देश पछाडी पर्नमा हाम्रा प्रायः सबै दल र दलसँग सम्बन्ध भएका नेता जिम्मेबार देखिएका छन् यसलाई स्वीकार गर्नुपर्दछ । यो परिस्थिति देशवासीले भोगिराखेको अवस्थामा यी सबै दलले आफ्ना मतदातासमक्ष आत्मालोचना गर्नुपर्ने हो । सत्ता स्वार्थ कै कारण दलहरुले लामो समयसम्म संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभावाट बल्ल बल्ल संविधान बन्यो । संविधान जारी हुँदा उत्पन्न हुन सक्ने परिस्थितिको सही आँकलन पनि दलहरुले गर्न सकेनन् ।

सत्ता लम्ब्याउने चालकै रूपमा मधेसवादी आन्दोलनका माग सहजै स्वीकार गरिदिए, संघीयता दिए, आर्थिक पक्षलाई बेवास्ता गर्दै तयार पारिएको समावेशी नीतिलाई कार्यान्वयनमा लगे, एक्कासि प्रतिशत हिन्दू भएको देशलाई रातारात धर्म निरपेक्ष बनाइदिए, देश धर्म निरपेक्ष बनाइदिँदा क्रिस्चियनलाई प्रसन्न बनाए । जसको कारण देश अस्तव्यस्त भयो, सीमित व्यक्ति मोटाए तर जनताको अवस्था भने हिजो जस्तो थियो अहिले पनि त्यस्तै छ । दिनभरि काम गरेर बालबच्चाको लालनपालन गर्नेको अवस्था दयनीय छ । अहिलेको राजनीतिक संकट र सत्तारूढ दलभित्र भएको राजनीतिक विभाजन यस्तै गैरराजनीतिक क्रियाकलापको उपज हो, राजनीति उनीहरुका लागी स्वार्थ सिद्ध गर्ने माध्यम मात्र भएको छ ।

यसअघि शासन सञ्चालन गर्दा पटकपटक परीक्षण भई सकेका पुराना नेताबाट देश अघि बढन नसक्ने भयो । देशमा दलीय सहमतिमा भ्रष्टाचार संस्थागत भएको छ । राजनीतिक दलका शीर्षस्थ नेताहरु आफ्ना कार्यकर्ता, नजिकका इस्टमित्रहरूको पक्षपोषणमा मात्र सीमित छन । व्यक्तिगत स्वार्थ सिद्ध गर्न सबै प्रकारले समझदारी गर्न अभ्यस्त छन् । दुई तिहाइ नजिकको बहुमत प्राप्त सरकार इतिहासमै अत्यन्त कमजोर बनेको छ ।

राजनीतिले जब सिद्धान्त, आदर्श, मूल्य, मान्यता र जनताप्रतिको प्रतिबद्धतालाई अस्वीकार गर्दै अघि बढ्छ सबै पक्ष अस्तव्यस्त हुन्छ, अहिले देश यही अवस्थाबाट गुज्रिराखेको छ ।व्यक्तिगत स्वार्थ सिद्ध गर्न राजनीतिलाई व्यापार बनाइएको छ । यसरी देश अघि बढदैन । यस प्रकारका गलत प्रवृत्तिलाई समाप्त गर्न जनता उठनु पर्ने हुन्छ । यदि देश बनाउने हो भने राजनीतिक दल र तिनका नेताहरु देश प्रति इमान्दार हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here