- डा.डीआर उपाध्याय,
विगत केही समय अघिदेखि घट्दो रुपमा रहेको कोरोना भाइरस फेरि दोहोरिन लागेको संकेत देखिन्छ । छिमेकी देश भारतमा कोरोना भाइरस बढे सगै नेपालमा खुल्ला सिमानाकाको कारण नेपालमा पनि यसप्रति सबै सचेत र जागरुप रहनु पर्ने देखिन्छ । कोरोनाका कारण देखाई पुन नेपालमा लकडाउन गर्ने खेल सरकारले गर्नु हुँदैन । गत वर्ष गरिएको लकडाउनका कारण नेपाली जनताको जनजीवन अझै सम्म पनि सहज बन्न सकिरहेको छैन । धेरैको व्यापार व्यावसाय अहिले सम्म सोचे बमोजिम सुचारु छैनन् ।
आम नागरिक लकडाउन भन्ने शव्द देखि नै त्रसित छन् । अब सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको छ । कोरोनाका कारण लकडाउन गर्नु समस्याको समधान होइन भन्न्ने कुरा विगतको परिणामले पुष्टि गरेको छ । नेपाल अरु देशको तुलनामा गरीब भएता पनि कोरोना भाइरस सँग लड्न सक्ने क्षमता भएको कुरा विगतले पुष्टि गरेको छ । नेपाली जनता कुनै पनि दुःख कष्ट सँग भागेको इतिहास छैन । हामी नेपाली वीर गोर्खालीका सन्तान हौँ हामी जस्तो सुकै त्याग तपस्या र बलिदान दिन पनि तयार छौँ ।
हामीलाई यो माटो मुटु भन्दा पनि प्यारो छ । कोरोना भाइरस सँग जुध्न सक्ने क्षमता वीर गोर्खाली नेपाली सँग छ । अहिले जुन किसिमले कोरोना भाइरसको हल्ला चलेको छ त्यसको सत्य तथ्य जानकारी पाएर मात्र सचेत बन्नु पर्ने आवश्यकता देखिएको छ । विगतको लकडाउनका कारण अहिले सम्म नेपालको अर्थतन्त्र चलाएमान हुन सकिरहेको छैन । अब लकडाउन गर्ने कुरामा कसैको ध्यान जानु हुँदैन । यदि नेपालमा कोरोना संक्रमण विगतमा जस्तै बढेको प्रमाण पाइएमा सरकारले आवश्यकता अनुसार सोच्ने कुरा आफ्नै छ ।
तर लकडाउन विकल्प होइन । लकडाउनले नेपालको अर्थतन्त्र देखि सबै क्षेत्रलाई तहस नहस पारेको कुरा अझै भुल्न सकिदैन । छिमेकी देश भारतका कतिपय शहरमा गरिएको लकडाउनको सिको नेपालमा गर्नु हुँदैन । श्रम जिवी जनता विगतको लकडाउन बाट नै त्रसित छन् । त्यो स्थिति पुन ः दोहोरिएमा जनता आक्रोसित हुन्छन् । केही महिनादेखि घट्दो क्रममा रहेको कोरोना भाइरस संक्रमण दर फेरि बढ्न थालेको छ । यो नै नेपाल र नेपाली जनताको लागि चिन्ताको विषय हो ।
संक्रमित संख्या केही मात्रमा बढिरहेको भए पनि यसप्रति सबै सचेत रहनुपर्ने आवश्यकता भने देखिएको छ । तर यो विषयमा तपाई हामीहरुले समयमै सावधानी अपनाइएन भने संक्रमणको अर्को लहर सुरु नहोला भन्न सकिन्न । खासगरी, पछिल्लो समय भारतमा जुन किसिमले संक्रमितहरूको संख्या बढिरहेको छ, त्यसलाई हेरेर पनि हामी सचेत र जागरुप हुनु पर्ने देखिन्छ । गत वर्ष नेपालमा नेपाली जनतालाई केही हुँदैन होला भन्दाभन्दै संक्रमण फैलिन पुगेको तथ्य याद राख्नुपर्छ । त्यसैले,तपाई हामी सबैले कोरोनाको दोस्रो लहर फैलिन नदिन स्वास्थ्य मापदण्डहरूको अनिवार्य पालना गर्नु–गराउनु अत्यावश्यक छ ।
भारतबाट नेपाल आउनेका हकमा स्वास्थ्य मापदण्ड पालनालाई पनि कडाइका साथ लागू गराउनुपर्छ । हामी नेपाली जनता तत्काल अत्तालिहाल्न आवश्यकता छैन । तैपनि सतर्क भने रहनुपर्छ । किनभने, सहर–बजारको भीडभाडदेखि राजनीतिक दलहरूको सभा–समारोहसम्ममा मानिसहरू स्वास्थ्य सावधानीबिनै जसरी निर्धक्क सहभागी भैरहेका छन्, यस्ता राजनीतिक गतिविधिहरूले हामी जानीनजानी पुनः होमिरहेका छौ ।
यसबाट कतै हामी आफैंले महामारीलाई पुन बोलाइरहेका त छैनौं भन्ने प्रश्न उठेको छ । हामीले कोरोना भाइरसलाई खेलाँची भने ठान्नु हुँदैन । यदि हामीले लापर्वाही गरियो भने कोरोनाका कारण देशको अर्थतन्त्र फेरि तहसनहस हुनेछ, जनजीविका र सामाजिक जीवन थप प्रभावित बन्नेछ । हामी सजग रहन सक्यौं भने मात्रै त्यस्तो परिस्थिति आउने छैन । सार्वजनिक स्थलमा जनस्वास्थ्यका नियम पालना भए–नभएको बारेमा सरकारले निगरानी गर्नुपर्छ । त्यस्तै, सरकारले खोप अभियानलाई गति दिन पनि उत्तिकै आवश्यक छ । किनभने संक्रमणको दोस्रो लहर सुरु भएमा जोखिममा रहेका समूहहरू प्रभावित हुन सक्छन् ।