कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो

0
26

-डा.डिआर उपाध्याय,

कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । बिश्वमानचित्रमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ । तर अझै हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । नेपाल जलस्रोतको धनी देश हो । कृषियोग्य जमिन पनि पर्याप्त छ । अव केवल कृषि क्षेत्रमा मिहिनेती हातहरुको खाँचो छ । वैदेशिक रोजगारमा हिँड्नेको लस्करलाई स्वदेशमै रोकेर रोजगारको अवसर सृजना गर्न सक्ने सम्भावना पनि छ । अव कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन बलियो इच्छाशक्ति, स्पष्ट नीति, प्रभावकारी कार्यान्वयनको खाँचो देखिन्छ । यसतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ ।

कृषि पेसालाई हामी सवैले सम्मानको पेसाको रुपमा हेर्नु पर्छ । पछिल्लो समयमा आएर युवाहरु कृषि पेसा तर्फ आर्कर्षित बनेको पनि देखिन्छ । केहि युवाहरु बिदेशवाट स्वदेश फर्किएर कृषि पेसा तर्फ पनि लागेका छन । पछिल्लो समयमा आएर कुखुरा पालन , बाख्रा पालन , गाई पालन , बुंगुर पालनका साथै तरकारी , फलफुल लगायत च्याउ खेतीमा युवाहरु आर्कर्षित छन । यो खुसीको कुरा पनि हो ।

अर्काको देशमा पसिना बगाउनु भन्दा आफनै देशमा पसिना बगाउनु राम्रो हो । त्यसो भयो भने देशको बिकास हुन्छ । अव राज्यले कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिनु पर्छ । कृषि क्षेत्र भनेको अर्थतन्त्रको मेरुदण्ड हो । यसको बिकास र प्रर्वदनमा लाग्नु पर्छ । अव नेपालका युवाहरु कृषि कर्ममा जुटनु पर्छ । काम भनेको सानो ठूलो हुदैन । श्रमको सम्मान हुनु पर्छ । पसिना बगाएर मानो रोपी मुरी फलाउने किसानहरुलाई सवैले सम्मान र हौसला दिनु पर्छ । तथ्यांक अनुसार नेपालको कूल जनसंख्याको करिब ६५ प्रतिशत किसानहरु कृषि पेसामा आबद्ध छन्। तर पनि हामी कृषिजन्य वस्तुमा अन्य मुलुकको भर पर्नुपर्ने अवस्था छ । मागअनुसार नेपालमा कृषिजन्य वस्तु उत्पादन नहुँदा परनिर्भरता हुनु पर्ने बाध्यता छ ।

नेपाल ससाना कृषिजन्य वस्तुमा पनि आत्मनिर्भर हुन सकेको छैन । हामीले बर्सेनि अर्बौं मूल्यको कृषिउपज आयात गर्नुपर्ने बाध्यता छ । लसुन, प्याज, आलु, गेडागुडी, कागती, खुर्सानी, टमाटर, धनीयालगायतका कृषिजन्य उत्पादनमा पनि नेपालले भारतसहित तेस्रो मुलुकको मुख ताक्नुपर्ने अवस्था छ । यो दुखद पक्ष हो । दिन प्रतिदिन हामी महँगो कृषिजन्य वस्तु उपभोग गर्न बाध्य छौं । आफनो देशमा उत्पादन कम भए पछि महंगी बढनु स्वभाविक पनि हो । नेपाल सरकारले कृषिका अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्ने योजना नल्याएको होइन तर कार्यान्वयनको पक्ष भने फितलो भयो । ती योजनाको पारदर्शिता, सुशासन र कार्यान्वयन पक्ष बलियो नहुँदा हामी कृषिमा आत्मनिर्भर हुन नसकेको हो ।

मुलुक अहिले पनि यस्तै अवस्थाबाट गुज्रिरहेको छ । आयात—निर्यात व्यापारबारे भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो आठ महिनाको तथ्यांक हेर्दा अवस्था निराशाजनक देखिन्छ । सन् १९६० को दशकमा नेपाल धान चामल निर्यात गर्ने मुख्य मुलुकमा परेको पाइन्छ । तर अहिले हामी परनिर्भर बन्दा दुःख लाग्छ । कृषिजन्य वस्तु आयातका नाममा बर्सेनि दुई खर्ब रुपैयाँ बिदेसिएको छ ।

स्वदेशमै यस्ता पदार्थको प्रशस्त उत्पादन भएको भए हाम्रै किसानले यो रकम आर्जन गर्न सक्थे । यसले व्यापार घाटा पनि कम हुन्थ्यो र मुलुकको अर्थतन्त्र पनि बलियो हुन्थ्यो । अव यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । अव भाषणमा मात्र होइन, व्यवहारमा पनि कार्यान्वयन गर्नु पर्ने जरुरी देखिएको छ । कृषिजन्य उत्पादन वृद्धि गर्न, बजारीकरण, भण्डारण र कृषि क्षेत्रलाई सेवा सुविधा उपलब्ध गराउन सरकारले बिशेषरुपले ध्यान दिन आवश्यक छ । अव कृषि क्षेत्रलाई ब्यापकरुपमा बिकास गर्नु पर्छ । कृषि पेसा भनेको हाम्रा पुर्खाहरुले गदै आएको मुख्य पेसा हो । त्यसैले यसको बिकास र प्रर्वदन गर्नु हामी सवैको कर्तव्य र दायित्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here