- डा.डिआर उपाध्याय,
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको दोस्रो लहर नेपालमा पनि पुनः देखिएको छ । पहिलो लहरको कोरोना संक्रमण भन्दा अहिले देखिएको कोरोना बढी मात्रमा घातक रहेको कुरा चिकित्सक हरुले बताउदै आएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण भएका बिरामी मध्ये धेरैजसो जटिल अवस्थामा उपचार भैरहेको पाइन्छ । अब कोही पनि मानिसहरुले यो कोरोना सँग खेलवाड गर्नु हुँदैन । यदि कोरोना सँग खेलवाड गरियो भने जो सुकैको ज्यान खतरामा पर्न सक्छ । पछिल्लो समयमा आएर कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकारले बढी भिडभाड हुने ठाउँहरुलाई बन्द गर्ने घोषणा गरेको छ । बढी मात्रमा प्रभावित हुने क्षेत्रहरु शैक्षिक संस्था, पार्टी प्यालेस, रेष्टुरेन्ट , दोहोरी साँझ लगायतका हुन् ।
अहिले विशेष गरेर शैक्षिक संस्था बढी मात्रमा प्रभावित भएका छन् । किनभने नजिकिदै गरेको वार्षिक परीक्षा समेत अन्योलमा परेको छ । आज देखि कोरोनाले बढी प्रभावित क्षेत्रका शैक्षिक संस्थाहरु पूर्ण रुपमा भर्चुअल पठनपाठनमा फर्किएका छन् । अहिले देखिएको कोरोनाले बाल मस्तिष्कमा एक खालको त्रास उत्पन्न गराएको छ । भविष्यका कणर््ाधार बालबालिकामा यस्तो त्रास उत्पन्न हुँदा उनीहरुको पढाइ प्रतिको रुचि कम हुँदै गएको देखिन्छ । बन्दाबन्दीले गर्दा स्कुले शिक्षा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्ने देखिएको छ ।
जसले गर्दा अभिभावक आफ्ना बालबच्चाको शिक्षा र मानसिक स्वास्थ्यलाई लिएर चिन्तित बनिरहेका छन् । त्यसैगरि वयस्क व्यक्ति आफ्नो सुरक्षाको बारेमा सोच्न सक्छन्, तर सानो उमेरका कलिला बालबालिकाहरु त्यसो गर्न सक्दैनन्। उनीहरू घरबाट निस्केर नफर्किएसम्म असुरक्षित रहन्छन्। यसरी कोभिड–१९ जस्तो रोगसँग जुध्ने क्रममा चालिनुपर्ने कदमबारे अहिले सम्म पनि अन्यौल सिर्जना हुन पुगेको छ । अभिभावक आफ्ना बच्चाको शैक्षिक वर्ष गुमाउन पनि चाहँदैनन्, भर्चुअल माध्यमबाट पठनपाठन गराउँदा अभिभावकका आफ्ना पेसा, व्यवसाय धरापमा परेको देखिन्छ । बालबालिकाहरुलाई घरमा छोड्ने ,वा पेसा व्यवसाय छोड्ने यो पनि चिन्ताको विषय बनेको छ । अर्को तर्फ समस्याको विषय यो छ कि सबैको घरमा इन्टरनेट जोड्ने औकात हुँदैन , सबैलाई पुग्ने गरि पढ्न एकै पटकमा मोबाइल, ल्यापटप उपलब्ध हुन सक्दैन ।
त्यसैगरि शहरी क्षेत्र बाहेक दुरदराजमा इन्टरनेटको सुविधा हुँदैन । त्यसैले शैक्षिक संस्था कोरोना बाट बढी मात्रमा प्रभावित भएको मान्न सकिन्छ । यो विषयमा नेपाल सरकार र सरोकारवाला बिच छलफल गरी अन्य विकल्पहरु पनि खोज्नु पर्छ ।वर्षै पिच्छे कोरोनाकै कारण भविष्यका कर्णधार बालबालिकाको भविष्य पनि बिगार्नु त भएन नि । यस बारेमा सबैले गम्भिरता पुर्वक सोचौँ । यता प्राण घातक जस्तो कोरोना सँग पनि हेलचेक्राई गर्नु भएन । समस्या यो हो । कोरोना कै कारण गत वर्ष मुलुकको अर्थतन्त्र चलायमान हुन सकेन यस वर्ष पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता थपिएको छ । यो सँगै बजार भाउ पनि धान्नै नसक्ने गरि आकासिएको छ ।
जुन कारणले निम्न आयश्रोत भएका नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । अब गत वर्ष जस्तै लकडाउन गर्नु पर्ने अवस्था आएमा निम्न आयश्रोत भएका व्यक्ति सबैभन्दा बढी मर्कामा पर्ने देखिन्छ । विगत वर्षको असरले गर्दा धेरै मानिसको अहिले सम्म रोजगारीको सुनिश्चितता छैन । अहिले देखिएको दोस्रो लहरको कोरोनाको त्रासले बालबालिका मात्रै नभइ आम नेपाली जनतालाई त्रसित बनाएको छ । गरिखाने वर्गका लागि यो एउटा समस्याको रुपमा देखिन्छ । नेपाल सरकारले पुर्व तयारी अपनाउनु पर्ने जरुरी देखिएको छ । जस्तै सीमानाकामा कढाई गर्ने, चेकजाँच गर्ने साथै आम नागरिकले पनि सरकारले तोकेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्ने गराउने कार्य गर्नु पर्दछ ।