भारत जान लागेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई प्रहरीले फर्काइदिएको छ।
सिरहाको ठाडी नाकाबाट मंगलबार भारततर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदी बताए।
‘उहाँलाई भारत नै नजानु भनेका होइनौं, भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर रोकेका हौं’, एसपी चतुर्वेदीले भने, ‘उहाँ अनुमति भएका अन्य नाकाबाट भारत जान सक्नुहुन्छ।’
भारतले बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ। तर, उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि नेपाल प्रहरीले रोकेको हो।
सांसद गिरी पछिल्लो समय नेपालले ल्याएको नयाँ नक्साप्रति फरक मत राखेपछि विवादमा आएकी थिइन्।
भारत माइती भएकी गिरीले नेपालले भारतलाई नसोधी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको र सो क्षेत्र नेपालको नभएको बताउँदै आएकी थिइन्।
उनले आफ्नै पार्टी निर्देशन विपरीत सरकारको संशोधन प्रस्तावविरुद्ध अर्को संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्।संसदमा आफ्नो संशोधन प्रस्ताव प्रस्तुत नगरिएपछि बैठक बहिस्कार गरेर हिँडेकी सांसद गिरी गृहजिल्ला सिराहामा पुगेकी थिइन्।
पार्टीको ह्विप समेत नमानेपछि अहिले उनलाई जनता समाजवादी पार्टीले पार्टी र सांसदबाट कारबाही गर्ने तयारी गरिरहेको छ।
निशान छापमा नेपालको नयाँ नक्सा रख्ने संविधान संशोधन विधेयक पारित भएपछि पनि उनी भारतीय मिडियामा नेपाल सरकारले गलत गरेको प्रतिक्रिया दिँदै आएकी थिइन्।
पार्टीले पार्टी कमिटी र सांसदबाट समेत कारबाही गर्ने तयारी गरिरहेका बेला उनी भारत जान थाल्नुलाई चासोका साथ हेरिएको छ।