गैरआवासीय नेपालीका लागि ‘एनआरएन द सिंगर’ आयोजना हुँदै

0
230

विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सांगीतिक रियालिटी शो ‘एनआरएन द सिंगर’ शुरु गर्न लागेको छ।

प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने कार्यक्रम २१ जुन देखि शुरु हुने आयोजकहरुले जनाएका छन्। उक्त प्रतियोगितामा नेपाल र सार्क मुलुकहरू बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन्।

प्रतियोगिताको निर्णायक मन्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन्।

शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले भने, ‘एनआरएनए स्थापनाका प्रमुख उद्देश्यहरु मध्ये एक प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा जगेर्ना गर्नु रहेको छ। यो कार्यक्रम त्यसतर्फ एक कोशेढुंगा हुने मैले विश्वास लिएको छु।’

एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीहरुको मूल पहिचान भएकोले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए । प्रतियोगिता भर्चुअल माध्यमबाट हुनेछ । तर फाइनल भने प्रत्यक्ष गर्न लागिएको एनआरएनए भिडिया सहसंयोजक चिरन्जीवीराज देवकोटाले जानकारी दिए । फाइनलको स्थान भने तय भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here