अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

0
277

सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो ।‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रहन्छ,’ गृह प्रवक्ता दाहालले सोमबार राजधानीसँग भने । गृह मन्त्रालयले यो शैली अवस्था हेरेर अघि बढाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत गरिसकेको छ । जिल्लास्थित डीसीएमसीले जिल्लाको अवस्था हेरेर सोबारे निर्णय लिन सक्नेछन् ।

गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । वर्षयाम सुरु भएपछि कृषि कार्यलाई समेत खुला गर्न सरकारले निषेधाज्ञा ‘मोडालिटी’मा परिवर्तन गर्न लागेको हो । तर, विद्यालय, कलेज, होटल व्यवसाय, पार्टी प्यालेस, सपिङ मलसहितका भीडभाड हुने क्षेत्र भने तत्काल खुल्ने छैनन् ।

यसैगरी, सामूहिक उपस्थिति हुने तथा बढी भीडभाड हुने विवाह, व्रतबन्ध, सभा, गोष्ठी गर्न अझै केही समय रोक लगाइनेछ । सार्वजनिक यातायातलाई केही समय बन्द नै गर्ने सरकारको योजना छ । तर, अवस्था हेरेर निजी सवारी साधन भने केही समयपछि जोरबिजोर प्रणालीबाट सञ्चालन गर्ने सरकारको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here