डोटीमा डेढ अर्बभन्दा बढी बजेट फ्रिज

0
235

विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ ।

जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै काम गर्न नसकिँदा वर्षेनी बजेट फ्रिज हुँदै जाने गरेको कर्मचारी बताउँछन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्ष २०७७–७८ मा जिल्लामा एक अर्ब ६९ करोड ८१ लाख १३ हजार ६ सय ३९ विकास बजेट फ्रिज भएको छ । जसअन्तर्गत संघीय सरकारको बजेटबाट ५४ करोड एक लाख २२ हजार ४३ र प्रदेश सरकारको बजेटबाट एक अर्ब १५ करोड ७९ लाख ९१ हजार ५ सय ९६ फ्रिज भएको हो ।

आव २०७७–७८ मा संघीय कार्यालयमार्फत जिल्लामा चालूतर्फ छ अर्ब आठ करोड ४२ लाख ५४ हजार ८ सय ६९ र पूँजीगततर्फ एक अर्ब १९ करोड ३८ लाख ५७ हजार बजेट विनियोजन भएको थियो । तीमध्ये चालूतर्फ पाँच अर्ब ७७ करोड ४३ लाख २६ हजार ३ सय २४ र पूँजीगततर्फ रु ९६ करोड ३६ लाख ६३ हजार ५ सयखर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । संघीय सरकारको बजेटको ९२.५७ प्रतिशत खर्च हुन सकेको छ । संघीय कार्यालयको चालूतर्फ झण्डै ९५ प्रतिशत र पूँजीगततर्फ ८०.७१ प्रतिशत रकम खर्च भएको देखिएको छ ।

सो अवधिमा प्रदेश सरकारको बजेट भने झण्डै २७ प्रतिशत फ्रिज भएको पाइएको छ । चालूतर्फ दुई अर्ब १३ करोड ७१ लाख ३१ हजार ५ सय विनियोजन भएकामा एक अर्ब ४९ करोड एक लाख ३० हजार १ सय ३७ खर्च भएको पाइएको छ । उक्त रकम चालूतर्फ विनियोजित कूल रकमको ६९.७३ प्रतिशत हो । यसैगरी पूँजीगततर्फ दुई अर्ब १७ करोड ९५ लाख ८२ हजार विनियोजन गरिएकामा एक अर्ब ६६ करोड ८५ लाख ९१ हजार ७ सय ६७ मात्रै खर्च भएको देखिएको छ ।

कूल पूँजीगत अनुदानको ७६.५५ प्रतिशत मात्रै खर्च भएको पाइएको छ । आव २०७७–७८ मा जिल्लामा जम्मा ४५ करोड सात लाख २१ हजार १ सय ७२ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार संघीय कार्यालयमार्फत ४१ करोड १५ लाख ३६ हजार ९ सय १८ र प्रदेश कार्यालयअन्तर्गत रु तीन करोड ९१ लाख ८४ हजार २ सय ५४ राजश्व संकलन भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here