खस्रो यथार्थ
म जन्मिदा
सिङ्गै संसारमा जन्मिएको
थिएँ
कसले बाँड्यो
सिमानासँगै मलाई
मान्छे थिएँ जन्मिदा
कसले लेखिदियो
मेरो अनुमतिबिना
मेरै नामको पछाडि जात
यही हो तेरो धर्म भनेर
कसले कोरेर दियो
मेरो ईश्वरको फोटो
कसले दियो
ममाथि मनलाग्दी गर्ने
अधिकार ?
चराहरुले लगाएका छैनन्
चर्का नाराहरू
जङ्गलमा कहीँ भेटिदैनन्
मृगहरुको शालिक
संसारभरि अमिलै छ
कागतीकाे स्वाद
पानीभन्दा अर्को
प्यासको धर्म देखेको छैन
देखिएको छैन हावाको जात
घामले छुट्टाएको छैन
सिमाना
जूनले बोकेका छैनन्
आ-आफ्नै देशको झन्डा
साना बाबू नानीहरूकाे
शान्ति खल्बलिने गरी
किन कराइ रहन्छौ
जिन्दाबाद, मुर्दाबाद
कति भक्भकाउँछौ
खोक्रो राष्ट्रवादकाे आलाप
याहाँ
दुईखुट्टा बिचको
छोप्नै पर्ने कुरा
छोप्न पाएको छैन
हो
म लगाइदिन सक्छु
मेरै देशको झन्डाको कट्टु ।
– पुस्तकप्रसाद