अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विदेशी कामदारलाई निशाना बनाएका छन् । ट्रम्पले केही ग्रिन कार्ड तथा विदेशी कामदारको भिसा यो वर्ष (२०२०) को अन्त्यसम्मका लागि निलम्बित गरेका छन् ।
उच्च सीप भएका प्रविधि क्षेत्रका कामदार, गैरकृषि क्षेत्रका मौसमी सहयोगी, आया र उच्च तहमा रहेर काम गर्ने कार्यकारीहरु प्रभावित हुने भएका छन् ।
कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा गम्भीर प्रभावित भएका अमेरिकीहरुलाई रोजगार प्रदान गर्नका लागि यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
तर आलोचकहरुले भने ट्रम्प प्रशासनले महामारीको बहाना बनाएर आप्रवासन कानूनको उल्लंघन गरेको बताएका छन् ।
नयाँ नियमका कारण अमेरिकामा काम गर्ने झण्डै पाँच लाख २५ हजार विदेशी प्रभावित हुने भएका छन् । जसमा स्थायी आवासका लागि नयाँ ग्रिन कार्डका प्राप्त गर्ने तयारीमा रहेका झण्डै एक लाख ७० हजार विदेशी कामदार छन् ।
ट्रम्प प्रशासनले गएको अप्रिलमा पहिलोपटक केही भिसा तथा ग्रिन कार्डको काम रोक्ने बताएको थियो । सो घोषणा अनुसारको समय सोमबार सकिएको छ । तर अब यो वर्षको अन्त्यसम्मै नियम लागु हुने भएको छ ।
भिसा भएकाहरु भने समस्या पर्ने छैनन् । तर भिसा सकिएर नविकरण गर्नु पर्ने या ग्रिन कार्डका लागि आवेदन दिनेहरु भने प्रभावित हुने छन् । यस्तै भारतका प्राविधिक कामदार र उनीहरुको परिवारका सदस्यलाई प्रदान गरिने एच–वानबी भिसा पनि तत्कालका लागि निलम्बित भएको हो ।
मौसमी कामदारहरुलाई प्रदान गरिने एच–टूबी भिसा, विद्यार्थी तथा आयाहरुलाई प्रधान गरिने जे– वान सर्ट टर्म एक्सचेन्ज भिजा पनि प्रभावित भएको छ ।
ट्रम्पको निशानामा विदेशी कामदार, केही भिसा ‘फ्रिज’ गरेयसैगरी बहुराष्ट्रिय कम्पनीहरुमा उच्च तहमा काम गर्नेहरुलाई प्रदान गरिने एल भिसा पनि तत्कालका लागि बन्द गरिएको छ ।