घाउ
च्यात्न लगाएर बुर्जुवा किताब
काँधमा बोकाएर बन्दुक
निसाना लगाउन सिकायो
छातीकाे देब्रे भाग या
निधारको बिच्चमा
मुक्त गरिबीकाे सपना
दलनको मुक्ति
अघाउञ्जेल भरी पेट भात
आफ्नै औँठाछाप
लालपुर्जा
यस्तै यस्तै देखाएर सपना
पड्काउन बाध्य बनाइएको
थियो
आफ्नै छिमेकीको छातीमा
बन्दुक ।
कुनै बधशालामा
टाउको नभएको राँगा देख्दा
कमरेड मंगल भोटेलाई
सम्झन्छु
जुत्ता देखेर जसलाई
पहिचान गरिएको थियो
आजसम्म पहिचानमा
आएको छैन
आरनको आगो निभाएर
जातको डँढेलो निभाउन
जङ्गल पसेको आइते कामी
एउटै धागोले सिउँछु भन्थ्यो
च्यातिएका सोचहरुलाई
हिजै जस्तो लाग्छ
सिउनै नमिल्ने गरी
एम्बुसले च्यातिदिएको
लाहुरे दमाईको छाती
प्रतीक्षा गर्ने कि किरिया गर्ने
आज पनि दोधारमा छन्
नाक चुच्चेका बा आमा
वंशजकै विरुध्द मुट्ठी
उठाएर
त्यागेको थियो उसले
स्राद्द, कर्मकाण्ड र रुद्री
निसाना लगाउन जान्नेहरू
बगरमा गिटी कुटिरहेका
छन्
खाडीमा भेडा खोठाला छन्
बाँकी अपाङ्ग छन्
भाग नपुगेर केही
फेरि पसेका छन् जङ्गल
आज पनि
निसानामा छन जात, गरिबी
नाक थेप्छे,नाक चुच्चेहरू
निसानामा छ टपरी र दुना
बिडम्बना !
निधारमै निसाना लगाउनु पर्नेहरू
सरकारमा बसेर
कहिल्यै नअधाउने काट्टो
खाँदै छन्
युद्धमा मरेकाहरूकाे ।
-कवि पुस्तक प्रसाद