
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक (भिडियोसहित
असार २३
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको गीत ‘मायाको सागरमा’को लिरिकल भिडियो सार्वजनिक भएको छ । केही समय अघि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गरेको यो गीतको लिरिकल भिडियो डीआर म्युजिक क्रिएशन मार्फत सार्वजनिक गरिएको हो ।
‘मायाको सागरमा’ एक गीत १२ भाषामा (12 Languages in one song)ले गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको हो । गीतमा सन्तोष श्रेष्ठको सङ्गीत निर्देशन रहेको छ भने देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ ।
एल्बममा रहेका गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर रहेको छ । यो गीतलाई नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारी रेकर्ड गरिएको हो ।
डा. उपाध्यायका ‘प्रणय’, ‘कृति’, ‘माउण्टेन मेलोडी’, ‘नशालु नजर’, ‘सेभेन्थ कडस’, ‘अन्जान तिर्खा’, ‘जोहो’, ‘प्रतिनाद’, ‘नजरको तीर’, ‘अनुभूतिको मझेरी’, ‘स्वर्गघर’, ‘परिष्कृत’, ‘पृथक’, ‘सहेली’, ‘सौभाग्यको सिन्दुर’, ‘अन्तराप’, ‘जखम’ र ‘मायाको सागरमा’ जस्ता १९ वटा गीति एल्वमका सयौं गीत सार्वजनिक छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘दगाबाज’ ‘स्वार्थी’, ‘अधुरो प्रेम’, ‘त्यागी’, ‘वज्रघात’, ‘अपवित्र छाया’, ‘बिटुली’ र सपनाकी रानी जस्ता दश उपन्यास पाठकमाझ आइसकेका छन् ।
डा. डीआर उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । गीत लेखेर डा. डीआर उपाध्यायले विभिन्न १५ वटा विश्व रकेर्ड राखेका छन् ।