आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन गर्नु निन्दनिय :नेपाल चलचित्र कलाकार सङ्घ

0
354

काठमाडौँ । नेपाली चलचित्र क्षेत्र र चलचित्रका कलाकारका विषयमा सामाजिक सञ्जालका साथै विभिन्न सञ्चार माध्यममा आएका आरोप, प्रत्यारोप, विवादलगायतका कलाकारका समस्या सम्बन्धमा नेपाल चलचित्र कलाकार सङ्घको फेरि ध्यानाकर्षण भएको जनाइएको छ । नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा यो भन्दा अगाडी मिति ०७७ जेठ १८ गते, ०७७ जेठ २३ गते र ०७७ असार १८ गते प्रेस विज्ञप्ती मार्फत सबै पक्षको ध्यानाकर्षण गराएको भन्दै फेरि ध्यानाकर्षण भएको जनाएको हो । चलचित्र कलाकारका समस्या र विवाद समाधानका लागि सङ्घले पहल गर्दै आइरहेको पनि भनिएको छ ।

नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको छ । आफूलाई लागेका कुराहरु मात्र हैन पीडालगायतका विकृती विसङ्गती विरुद्ध आवाज उठाउन पाउनुपर्ने नागरिकको नैसर्गिक अधिकार हो । कसैको अभिव्यक्ती चित्त बुझेन भने शिष्ट भाषामा मर्यादित तरिकाले त्यस्को आलोचना र प्रतिवाद गर्न पाइन्छ । तर, आलोचना र प्रतिवादको नाममा कसैलाई गाली गलौच र अशिष्टताको प्रदर्शन गर्नु निन्दनिय हुने भनिएको छ ।

कुनै कलाकारलाई दुव्र्यवहार भए, हिंसामा परे वा मर्कामा परेमा तत्कालै आफ्नो मर्का पीडा आफूमाथि भएको दुव्र्यवहारबारे सङ्घलाई जानकारी गराउने र सोही समयमा आवश्यक कानुनी उपचार लिएमा प्रभावकारी हुने भएकाले तत्काल आफ्नो पीडा, समस्या, मर्का, सङ्घलाई जानकारी दिने र कानुनी उपचार लिने सङ्घका सबै सदस्यहरुलाई पनि यसै बक्तव्य मार्फत अनुरोध गर्न चाहन्छौं भनिएको छ ।

यस्तै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सचेतना फैलाउने कार्यको समेत अभिभारा लिएका कलाकारहरुले आदर्श समाज निर्माण गर्नुपर्ने भएकाले कलाकारहरुले हिंसा पीडा र अन्यायलाई निरुत्साहित गर्न लागिपर्नु पर्ने कुरा पनि यसै बक्तव्य मार्फत जानकारी गराउन चाहन्छौं । हाल चलचित्र क्षेत्रमा देखिएका विविध समस्या र विवादको समाधानका लागि चलचित्र क्षेत्रका सबै पेशागत सङ्घ संस्थाले चासो राख्नु पर्ने र ऐक्यवद्ध हुनुपर्ने पनि यसै बक्तव्य मार्फत अनुरोध गर्दछौं भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here