नेपाली साहित्य फाँटमा विशिष्ट स्थान बनाइसकेका युवा साहित्यकार भीष्म राज फुलारा गीतकारको रुपमा नेपाली गीत, सङ्गीतको क्षेत्रमा पदार्पण गरेका छन् । फुलाराद्वारा आमाको सम्झनामा लिखित गीत ‘जूनसरी बिलाई गयौं…’ सार्वजनिक भएको छ ।
विक्रम थापाको सङ्गीत, विसन मानन्धरको सङ्गीत संयोजन र स्वरुपराज आचार्यको स्वर रहेको गीत ‘जूनसरी बिलाई गयौं…’को लिरिकल भिडियो सार्वजनिक भएको हो ।
गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्- ‘आज म निक्कै नै भावुक भएको छु । मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’
त्यसैगरी गायक स्वरुप राज आचार्य भन्छन्- ‘मैले मेरो २५ वर्षे साङ्गीतिक यात्रामा सयौं गीतहरु गाएँ । म सधै गहन गीतहरुको खोजीमा हुन्छु । गीतकार भीष्मराज फुलाराज्युका शब्दहरु निक्कै नै अब्बल रहेको पाएँ । गीतकार फुलाराजीले भने झै आमा गुमाइसकेका संसारका ती सबै सन्तानहरुको साझा गीत हो यो भन्ने कुरामा म पनि सहमत छु ।’
गीत सार्वजनिक कार्यक्रममा उक्त गीतका सङ्गीतकार विक्रम थापाले समेत गीतकार भीष्मराज फुलारा नेपाली गीत सङ्गीत क्षेत्रमा अब्बल गीतकारको रुपमा पदार्पण गर्नुभएको हुँदा उत्कृष्ट गीतहरुको अभाव रहेको वर्तमान अवस्थामा फुलाराजी जस्ता संवेदनशील गीतकारको खाँचो रहेको औल्याए ।’ उक्त गीतको छायाँकन किशोर खनाल र सम्पादन श्यामराजा श्रेष्ठले गरेका छन् ।
फुलारा लिटरेचर फाउण्डेसन र द लभ अफिसेस अफ बासु डी. फुलारा पी.सी.को सहकार्यमा निर्माण गरिएको गीतको लिरिकल भिडियो गीतकार फुलाराको आधिकारीक युट्यूब च्यानल ‘फुलारा इन्टटेनमेन्ट’मार्फत स्रोता/दर्शकमाझ आएको छ ।