गणतन्त्र स्थापनाको १५ वर्ष

0
71

-डा.डिआर उपाध्याय,

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ ।

पहिलो गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए । गणतन्त्र स्थापनापछि हालसम्म उनीसहित आठ जना प्रधानमन्त्री भइसकेका छन् । तर, पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएको छैन । बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन हुन सकिरहेको छैन । द्वन्द्वपीडितका मागहरू सम्बोधन भइसकेका छैनन् । गणतन्त्र स्थापना भएको १५ वर्ष हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएका छैनन् ।

गणतन्त्र भनेको नागरिकलाई सर्वाधिकारसम्पन्न बनाएर राज्यको निर्णायक तहसम्म स्थापित गराउने एउटा सर्वोकृष्ट प्रणाली हो । नेपालको ऐतिहासिक विकासक्रममा यो एउटा महत्त्वपूर्ण दिन हो । त्यसैले यस दिनको स्मृति र सम्मानमा हामी बर्सेनि गणतन्त्र दिवस मनाउँदै आइरहेका छौं । आज पनि मनाउँदै छौं । गणतन्त्र दिवस मनाइरहदा यस्तो सुखद अवसरमा पनि आम नेपाली किन उत्साहित छैनन् ? नागरिकहरू किन निराश छन । ब्यवस्था फेरियो तर जनताको अबस्था फेरिन सकेन ।

जनताको अबस्था फेरिन नसक्नु नै दुखद कुरा हो । राजनीतिक परिवर्तन र ब्यवस्था परिवर्तनमा जनताको ठूलो भूमिका र योगदान छ । आज यो ब्यवस्थामा राजनीतिक दलका नेता धनी बन्दै जाने तर जनता गरिवको गरिव हुने अबस्थाले एउटा निराशा छाएको छ । संविधान फेरियो, ब्यवस्था फेरियो तर जनताको अबस्था किन फेरिएन ? यो गम्भिर प्रश्न हो ।

राज्यस्रोत वितरणमा रहेका असमानताका कारण हुनेखाने र विपन्नहरूका बीचको खाडल यति गहिरिँदै गएको छ । त्यसले समाजमा छिटै संकटको स्थिति जन्माउन सक्छ । राज्यको कमजोर उपस्थितिकै कारण महिलाहरूप्रतिको यौनिक हिंसा, दलित र उत्पीडितहरूमाथि विभेदमा कमी आउन सकेको छैन । बेरोजगार र हात–मुख जोड्ने समस्याले नेपाली श्रमिकहरू दिनहुँ खाडी मुलुकतिर भौंतारिनुपर्ने बाध्यता छ । नागरिकले प्रत्येक दिन झेल्नुपर्ने उपभोग्य वस्तुको अभाव, मूल्यवृद्धि, अनियन्त्रित बजारको स्थिति झन् विकराल छ । गरिवले आफ्नो स्रोतबाट शिक्षा अनि स्वास्थ्य सेवा धान्न नसक्ने भइसकेको छ ।

गणतन्त्रले नागरिकका सन्ततिलाई पनि राष्ट्रप्रमुखसम्म हुने अवसर दियो । अहिले महिला मुलुकको राष्ट्रपति छिन् । जनताका लागि गर्व र हर्षको विषय हो यो । अर्कातिर, जीवनशैली, आचरण र सोचमा सामन्ती राजतन्त्रको पुनरावृत्ति भइरहेको पाउँछौं तब स्वाभाविक रूपमा जनमानसमा वितृष्णा उत्पन्न भएको छ । गणतान्त्रिक व्यवस्थाकी राष्ट्रप्रमुख हिजोकै राजशाहीको झल्को दिँदै सडकमा आउजाउ गर्छिन्, । विगतको राजतन्त्र र आजको गणतन्त्रबीचको तात्त्विक अन्तर के हो ? हिजोकै नेताहरू आज पनि सत्तामा छन । आज नेताहरुले राजनीतिलाई अवसर र औजारका रूपमा प्रयोग गरिरहेका छन ।

नेपालमा राजतन्त्रले सयौँ वर्ष शासन र शोषण गर्दै आयो। सँगसँगै, राजतन्त्रविरुद्धको संघर्ष पनि चल्दै आयो। पटकपटकका आन्दोलन राजनीतिक दलहरूका कारण सम्झौतामा पनि टुंगिए। यद्यपि, ०६२र६३ को जनआन्दोलन निष्कर्षमा पुग्न सफल भयो। संयुक्त जनआन्दोलन उत्कर्षमा राजतन्त्रविरोधी ुजनविद्रोहुमा रूपान्तरित भयो। जनक्रान्तिको स्वरूप ग्रहण गरेको त्यही आन्दोलनले नेपाली समाजमा जबर्जस्त जरा गाडेको राजतन्त्रलाई उखेलेर फाल्यो र गणतन्त्रको झण्डा फहरायो।

आन्दोलनबाट पुनर्स्थापित प्रतिनिधिसभाले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक घोषणा गर्दै त्यसको कार्यान्वयन गर्ने संविधानसभाको पहिलो बैठकलाई ुम्यान्डेटु सुम्पियो। जसअनुसार १५ जेठ ०६५ मा सम्पन्न संविधानसभा पहिलो बैठकले नेपालमा राजतन्त्रीय युग समाप्त गरी लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन घोषणा गर्यो । ‍ हाम्रो युगको त्यो ऐतिहासिक दिन बनेर १५ जेठ ०६५ आयो। अर्थात् त्यस दिन राजा र जनताबीचको लडाइँको छिनोफानो भयो।

राजा र राजतन्त्रको हार भयो, जनताको जित भयो र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। त्यही सम्झनामा १५ जेठलाई हामी गणतन्त्र दिवसको रूपमा मनाइरहेका छौँ। नेपालमा गणतन्त्र आयो तर जनताले यसको अनुभूति गर्न पाइरहेका छैनन् । नेतालाई राजधानीमा महल ठड्याउन र महँगा चिल्ला गाडीमा सवारी चलाउनका लागि गणतन्त्र वा लोकतन्त्र ल्याइएको होइन । अब राजनीतिक दल र तिनका नेताहरुले गम्भिर भएर सोच्नु पर्ने बेला भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here