पानीपुरीमा प्रयोग हुने पानीमा हैजाको ब्याक्टेरिया भेटिएको थियो उपत्यकामा १२ जनामा हैजाको संक्रमण देखिएपछि काठमाडौं उपत्यकाको ललितपुर महानगरपालिकामा पानीपुरी बिक्री वितरणमा रोक लगाइएको छ । ललितपुर महानगरपालिकाले शनिबार पानीपुरीमा प्रयोग हुने पानीमा हैजाको ब्याक्टेरिया भेटिएको भन्दै महानगरमा पानीपुरीको बिक्री वितरण बन्द गर्ने निर्णय गरेको हो । उपत्यकामा हैजा फैलिने जोखिम बढेको भन्दै भीडभाड हुने ठाउँ र करिडोर क्षेत्रमा पानीपुरी बिक्री रोक्न महानगरले आन्तरिक तयारी गरेको नगरपालिकाका प्रहरी प्रमुख सीताराम हाछेथले जानकारी दिए । काठमाडौं उपत्यकामा थप सात जनामा हैजाको संक्रमण पुष्टि भएसँगै उपत्यकामा हैजाका बिरामीको संख्या १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासका अनुसार काठमाडौं महानगरपालिकामा पाँच, चन्द्रागिरि नगरपालिका र बूढानीलकण्ठ नगरपालिकामा एक–एक जनामा हैजाको संक्रमण देखिएको छ । संक्रमितहरुको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसअघि राजधानीका विभिन्न स्थानमा हैजाका पाँच विरामी भेटिएका थिए । संक्रमितमध्ये दुईजनाको यसअघि नै उपचार भई डिस्चार्ज भइसकेको छ । यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजाको लक्षण देखिए तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जान सर्वसाधारणलाई आग्रह गरेको छ । विशेषगरी गर्मी र वर्षायाममा झाडापखाला, हैजालगायत पानीजन्य रोगहरू फैलिने भएकाले सबैलाई सचेत र सजग रहन मन्त्रालयले अनुरोध गरेको छ । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400