पाँच दलीय गठबन्धनले संविधान र संघीयताको रक्षा गरेको छ : प्रधानमन्त्री देउवा

By Raj Shrestha

0
54
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ पाँच दलीय गठबन्धनले संविधान र संघीयताको रक्षा गरेको बताउँदै गठबन्धन ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार सत्तारुढ गठबन्धनका कार्यकर्ताको कर्णाली प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनवादी शक्ति एउटै अडानमा उभिएकाले गठबन्धन लामो समयसम्म कायम रहने बताए ।

‘संविधान उल्लंघन गर्ने प्रवृत्तिलाई चुनौती दिन गठबन्धन बनेको हो । यस्तो कदमलाई जिताउन एकजुट हुनुको विकल्प छैन । सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध परेका उम्मेदवारी फिर्ता लिन म उम्मेदवारहरूलाई आग्रह गर्दछु,’ प्रधानमन्त्रीले भने ।

यसका लागि सत्तारुढ गठबन्धनका नेता तथा कार्यकर्तालाई लाग्न आग्रह गर्दै प्रधानमन्त्रीले कर्णालीमा गठबन्धन थप साकार भएको बताए ।

सो अवसरमा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन विजयी भए पाँच वर्षभित्र परिणाम देखाउने आश्वासन दिए ।

सभालाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली र सुदूरपश्चिम प्रदेशले खेलेको भूमिकालाई सत्तारुढ गठबन्धनले गम्भीरतापूर्वक आत्मसात् गरेको बताउँदै प्रतिगमनविरुद्धको विद्रोह कर्णालीबाटै सुरु भएको बताए ।

“यो गठबन्धन प्रतिगमनको विरुद्धमा बनाइएको हो। यसलाई हल्का रूपमा लिनु हुँदैन। गठबन्धनले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समानुपातिक समावेशीको रक्षा गरेको छ । त्यसैले यो गठबन्धन संविधानको अतिक्रमणविरुद्ध हो,’ प्रचण्डले भने ।

उनले कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले सबै सिट जित्ने विश्वास व्यक्त गर्दै कर्णालीको विकास र राजनीतिक स्थिरताका लागि यो जित आवश्यक रहेको बताए ।

प्रचण्डले नेता कार्यकर्तालाई सनसनीमा नभई समर्पित भएर काम गर्न आग्रह गरे ।

सो अवसरमा प्रचण्डले द्वन्द्वलाई शान्तिमा परिणत गर्न तत्कालीन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, आफू र माधवकुमार नेपालले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै इतिहासको मर्मअनुसार अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको जितले मात्रै गरिबी, भोक र शिक्षाको अभाव अन्त्य गरी देशलाई समाजवादतर्फ अघि बढाउन सकिने बताए ।

त्यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीको असंवैधानिक कदमका विरुद्धमा पाँच दलीय गठबन्धन बनेको बताउँदै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन नेता कार्यकर्तालाई आग्रह गरे ।

सो अवसरमा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीले सत्तारुढ गठबन्धनको जितले मात्रै देशको विकास र समृद्धि हुने बताउनुभयो ।

#worldwidekhabar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here