आगामी निर्वाचनका लागि कर्णाली प्रदेशका हिमाली जिल्लामा मतपत्रसहितको निर्वाचन सामग्री पठाइए पनि नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना बितिसक्दा पनि पाठ्यपुस्तक पुगेको छैन । सरकारले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा बालबालिका खाली हात विद्यालय जान बाध्य छन् । डोल्पा, हुम्ला र कालिकोट जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । सरकारले निर्वाचनका लागि मतपेटिका, मतपत्र, कपडा र स्वस्तिक टिकटहरू दुर्गम जिल्लामा सफलतापूर्वक पठाएको भए पनि गरिब विद्यार्थीलाई आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउन सरकार गम्भीर देखिएन । कालिकोटमा पनि पाठ्यपुस्तकको अभाव छ । नरहरिनाथ गाउँपालिकाका अधिकांश सामुदायिक विद्यालयले केही विषयको पाठ्यपुस्तक पाएका छैनन् । गाउँपालिकाका शिक्षा विभागका प्रमुख दुर्गालाल न्यौपानेले सबै बालबालिकालाई सबै विषयका पुस्तक उपलब्ध नभएको बताए । ठेक्कापट्टामा पुस्तक ढुवानी हुने गरेकाले प्रत्येक वर्ष पाठ्यपुस्तक अभावको समस्या झेल्नुपरेको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना बितिसक्दा पनि हुम्लाका केही विद्यालयका विद्यार्थीले अझै पाठ्यपुस्तक पाएका छैनन् । सिमकोट गाउँपालिका–६ स्थित मानसरोवर माध्यमिक विद्यालयमा किस्तामा पाठ्यपुस्तक वितरण गरिएको छ । मागअनुसारको किताब नपुगेकाले विद्यालयमा किताब पुगे पनि अहिले केही विद्यार्थी खाली हात छन् । विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले विद्यालय नियमित सञ्चालन भए पनि पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको बताए । यस वर्ष पनि समयमा पाठ्यपुस्तक नआएपछि विद्यार्थी अन्योलमा परेका छन् । त्रैमासिक परीक्षा सकिएपछि मात्र केही किताब हुम्ला पुगेका छन् । तिनीहरू पनि अपर्याप्त छन्। ” विगत तीन वर्षदेखि पठनपाठन अस्तव्यस्त बनेको विभिन्न विद्यालयका शिक्षकले बताएका छन् । देशमा कोभिड–१९ को प्रकोप आएपछि पुस्तक उपलब्ध नभए पनि सरकारले यस वर्ष जस्तै सामान्य समयमा पनि आपूर्ति गर्न असफल भएको देखिएको छ । सिमकोट गाउँपालिकाका सामुदायिक विद्यालयका सबै कक्षामा पाठ्यपुस्तक नपुगेको शिक्षा शाखाका प्राविधिक सहायक कृष्णप्रसाद आचार्यले जानकारी दिए । आदानचुली गाउँपालिकामा सबै विद्यार्थीसँग पाठ्यपुस्तक छैन । पाठ्यपुस्तक ढुवानी र बिक्रेताको लापरवाहीका कारण विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्न नसकेको गाउँपालिकाको शिक्षा विभाग प्रमुख रणसुर रोकायाले बताए । हालसम्म गाउँपालिकाका आधा विद्यार्थीले मात्र पाठ्यपुस्तक पाएका छन् । विगतका वर्षहरूमा पनि हुम्लालगायत कर्णालीका हिमाली जिल्लाहरूमा समयमै पाठ्यपुस्तक पुग्न सकेको थिएन। शिक्षाका लागि राष्ट्रिय अभियान कर्णाली प्रदेशका अध्यक्ष तुलाराम पाण्डेले सरकारको लापरवाहीका कारण ग्रामीण जिल्लाको शैक्षिक अवस्था अस्तव्यस्त बनेको बताए । ‘निर्वाचन मतपत्र समयमै आउँछ, तर पाठ्यपुस्तक आउँदैन,’ उनले भने । कर्णाली प्रदेश जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख धनबहादुर केसीले धेरै जिल्लामा पाठ्यपुस्तक पुगेको र केही कक्षामा थोरै अभाव देखिएको बताए । दैलेख, कालिकोट र सुर्खेतमा कक्षा ८ को पाठ्यपुस्तकको अभाव छ । अन्य सबै जिल्लामा पाठ्यपुस्तक पुगेको छ । ‘यस वर्ष पाठ्यपुस्तक छपाईमा ढिलाइका कारण यस्तो अवस्था आएको हो,’ उनले भने । जनक शिक्षा सामग्री केन्द्रको लापरवाहीका कारण पाठ्यपुस्तकको अभाव भएको बिहानी पुस्तक पसलका सञ्चालक शेरबहादुर खड्काले बताए । ‘अझै पनि कक्षा ८ का विद्यार्थीले सामाजिक शिक्षा र अंग्रेजी विषयको पुस्तक पाउन सकेका छैनन्,’ उनले भने । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400