प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो साना सेतीलगायतका जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ बेलापुरमा आज चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको सुदूरपश्चिम क्षेत्रलाई आर्थिक रुपमा समृद्ध बनाउन जलविद्युतको विकासमा ध्यान दिइने बताए । ‘पश्चिम सेती सुदूरपश्चिमको मात्र नभई देशको अर्थतन्त्रलाई पनि उकास्ने आयोजना हो । हामीले यसको निर्माण सम्पन्न गरेपछि ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छौं। र यो आयोजना निर्माणका लागि सम्झौता भइसकेको छ,’ प्रधानमन्त्री देउवाले भने । उनले सेती र महाकाली क्षेत्रका जनतालाई आर्थिक रुपमा सबल बनाउन नयाँ योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्दै सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबैलाई आग्रह गरे । प्रधानमन्त्री देउवाले नेपाली भूमि लिम्पियाधुर, कालापानी र लिपुलेक फिर्ता गराउन कूटनीतिक पहल गरिने बताउनुभयो । उनले सीमा विवादका विषयमा सरकारले भारत र चीन दुवैसँग कूटनीतिक वार्ता गर्ने बताए । अघिल्लो सरकारले दुई पटक संसद विघटन गरेको कदमको आलोचना गर्दै प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धन संसद र सरकारको स्थायित्वका लागि बनेको स्पष्ट पारे । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400