प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बैतडी आइपुगेका छन् ।
संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरु आएका हुन् । नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले मंसिर २० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई ध्यानमा राखेर चुनावी सभा आयोजना गरिएको जानकारी दिए ।
प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड यसअघि पाटन पुगिसकेका छन् र केही समयपछि चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सत्तारुढ दलका शीर्ष नेताहरु आएपछि जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
त्यसैगरी आज दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई दुवै नेताले सम्बोधन गरेका थिए । बैतडीमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्त गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।
#worldwidekhabar