राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नेपाल वायु सेवा निगमका प्रवक्ता अर्चना खड्काले यही पुस मसान्तसम्म गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको बताइन् । यसका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित टोलीले यस सम्बन्धमा अध्ययन गरिरहेको छ । खड्काले भने, "यस डिसेम्बरको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी भइरहेको छ । समितिको प्रतिवेदनपछि बोर्डले गन्तव्य टुंगो लगाउनेछ ।" जजिरा एयरलाइन्सले अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतका लागि सातामा तीन उडान गर्दै आएको छ । नेपाल वायुसेवा निगमले आठ देशका १० गन्तव्यमा यस्तो उडान गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइड बडी र दुई न्यारो बडी विमान छन् । त्यस्तै हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कात्तिक ३ गतेदेखि नियमित चार्टर्ड उडान गर्दै आएको छ । निगमले यसअघि नै पाँचवटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका साथै नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई नयाँ विमानस्थलबाट उडान सञ्चालन गर्न लिखित रुपमा आग्रह गरिसकेको छ । निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णय पनि गरेको थियो । #worldwidekhabar
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400