सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विदेशमा रहेका नेपाली कामदार र स्वरोजगारीमा संलग्नलाई सामाजिक सुरक्षा दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ती क्षेत्रलाई सामाजिक सुरक्षाको मापदण्डमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । पाँचौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री कुँवरले सामाजिक सुरक्षा योजनालाई श्रमिकका लागि सहज बनाइने बताउनुभयो । मन्त्री कुँवरले सामाजिक सुरक्षा कोषबाट ल्याइएका योजनामा परिमार्जन हुने संकेत गर्दै सामाजिक सुरक्षा योजनाको मापदण्ड थपिएपछि कोही पनि पछि नहट्ने तर्क गरे । उनले कोषको क्षितिज विस्तार गरी श्रमिकका परिवारलाई उद्यमशीलता विकासमा प्रोत्साहित गरिने बताए । कार्यक्रममा बोल्दै कोषका अध्यक्ष तथा मन्त्रालयका सचिव एकनारायण अर्यालले कोषले योगदानकर्तालाई आकर्षक सुविधा दिँदै आएकोले कर्मचारी र रोजगारदाताले सामाजिक सुरक्षा योजनामा सहभागी हुन नहिचकिचाउनु पर्ने बताए । त्यसैगरी कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले योगदानकर्ताको श्रीमतिको उपचार खर्च र योगदानकर्ताले दीर्घरोगको उपचार खर्च पनि पाउने बताए । यसैबीच कोषले आजदेखि बुटवल र नेपालगञ्जमा कार्यालय स्थापना गरेको छ । विराटनगर र सिमरापछि कोषको यो चौथो कार्यालय हो र निकट भविष्यमा पोखरामा कार्यालय स्थापना हुनेछ । हाल कोषमा १७ हजार ५०७ रोजगारदाता र ३ लाख ७५ हजार ९०४ कर्मचारी भर्ना भई जम्मा २६ अर्ब रुपैयाँ सङ्कलन भएको छ ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400