सर्वोच्च अदालतको आज बसेको पूर्ण अदालतको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावलाई प्रभावकारी नभएको भन्दै आधार पेस गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएको छ । संसद्का महासचिव डा. भरतराज गौतमले महाअभियोग प्रस्ताव प्रभावकारी नभएको भन्दै आज बिहान सर्वोच्च र अन्य सरोकारवाला निकायलाई पत्र लेखेपछि सर्वोच्चले यस्तो निर्णय गरेको हो । महासचिवको पत्रपछि सर्वोच्चको पूर्ण अदालतले बैठक बोलाएको हो । बैठकले महाभियोग प्रस्तावलाई प्रभावहीन बनाउने आधारका सम्बन्धमा सातवटा प्रश्न सोधेको सर्वोच्चका सह रजिस्ट्रार नारायणप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सर्वोच्चले महासचिवलाई प्रस्तावलाई अमान्य ठहर गर्ने संवैधानिक र कानुनी प्रावधानबारे सोधेको छ ।
