प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टको एउटै केन्द्र बनाउनुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (बहुमत) – नेकपा (बहुमत) नेतृत्वको टोलीसँगको छलफलमा उनले सो कुरा बताएका हुन् । प्रतिनिधिमण्डलको नेतृत्व नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बाँस्तोलाले गरेका थिए । ‘नेपालको समाजवाद उन्मुख व्यवस्थाको व्यवस्था संविधानमा सामान्य अर्थमा समेटिएको छैन, अहिले नेपाली विशेषतासहितको समाजवादी पद्धतिका बारेमा पनि बहस चलिरहेको छ । यस विषयमा नेपालका सबै कम्युनिष्ट पार्टीबीच छलफल सुरु भएको छ । तपाईंबाट रचनात्मक भूमिकाको अपेक्षा गर्दछु,’ प्रधानमन्त्री दाहालले भने । प्रधानमन्त्रीसँगको भेटमा नेकपा (बहुमत) पार्टीका नेताहरुले राष्ट्रियता, लोकतन्त्र र आम जनताको जीविकोपार्जनका विभिन्न माग राखेका थिए । ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री दाहालले बाँस्तोला नेतृत्वको प्रतिनिधिमण्डललाई धन्यवाद दिँदै ज्ञापनपत्रमा उठेका अधिकांश विषय सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा समेटिएको बताए । ‘राष्ट्रिय पूँजीको संरक्षण गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सरकार प्रतिबद्ध छ, वर्तमान अवस्थामा कसरी बढीभन्दा बढी काम गर्न सकिन्छ भन्नेमा म सचेत छु,’ उनले भने । प्रधानमन्त्री दाहालले जनयुद्ध र थारु, मधेसका आन्दोलन, सङ्घर्षलगायतका विभिन्न आन्दोलनका क्रममा थुनामा रहेका जनतालाई रिहा गर्न सरकार गम्भीर रहेको बताए । उनले चालु संसद् बैठकले यससम्बन्धी विधेयक पारित गर्ने बताए । सो अवसरमा नेकपा (बहुमत)का नेता बाँस्तोलाले हिरासतमा रहेका नेता कार्यकर्तालाई रिहा गर्न र जनताको जीविकोपार्जनसँग जोडिएको विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभयो । प्रधानमन्त्री दाहालले ज्ञापनपत्रमा उल्लेख भएका अधिकांश विषय सम्बोधनका लागि सरकारबाट आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । यसैबीच नेकपा (बहुमत)ले नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी पेपर कारखाना सञ्चालनको जिम्मेवारी सरकारलाई दिन प्रस्ताव गरेको छ । प्रधानमन्त्रीसँगको भेटमा बाँस्तोलाले कारखाना सञ्चालनका लागि आफ्नो पार्टीले जनशक्ति उपलब्ध गराउने प्रस्ताव राखेका थिए ।
CHAIRPERSON: Ram Krishna Shrestha
Director: Rajendra Luitel
Editor: Raj Shrestha
CEO: Kanchan Shrestha
Email: worldwidemedia@gmail.com
worldwidekhabar@gmail.com
Phone: 4451457, 9851038400